जाजरकोटस्थित बारेकोट गाउँपालिका–७, स्यालामा तीन वर्षीया बालिका र १२ वर्षीय बालक एक आपसमा खेल्दै थिए। घर नजिकै रहेको घाँस राख्ने टहरामा खेल्दै गरेकी ती बालिकालाई बालकको गिद्धे नजर पर्छ र जबरजस्ती करणीको प्रयास गर्छन्। निर्दोष ती बालिका प्रतिकारमा उत्रिन्छिन्। रोइकराई, चिच्याई प्रतिकार गर्छिन्। तर, उनको त्यो चित्कार कसैले सुन्दैनन्। धेरै चिच्याउँदा अरूले थाहा पाउने भन्दै ती बालकले बालिकालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरे।
बालिकाका आमाबुवा र हजुरबुवा कामका लागि घरभन्दा बाहिर थिए। घरमा बालिकाका कान्छा बुबा र कान्छी आमाले मलखाद सारिरहेका थिए। बालिका र बालक भने उक्त घाँस राख्ने टहरामा खेलिरहेका थिए। घरदेखि उक्त टहरा करिब २५ मिटर टाढा भएको प्रहरीले जनाएको छ। सोही मौकामा बालकले निर्दोष बालिकामाथि करणीको प्रयास गरेका थिए। करणीको प्रतिकार गरेपछि बालिकालाई घरेलु हतियार चक्कुले घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिकाको हत्यापछि शवलाई ती बालकले घाँसको पुलाले छोपी फरार भएका थिए। यो घटना माघ ९ गते राति करिब २२ः१० बजेतिरको हो।
अहिले ती बालकलाई रीतपूर्वक नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिनेश तिमिल्सेनाले जानकारी दिए। ‘बालकले जबरजस्ती करणी गर्न खोजेको घटनास्थल अध्ययन गर्दा देखिन्छ,’ उनले भने, ‘बालिकाको सुरुवाल खोलिएको छ। प्रतिकार गर्न खोज्दा चोटपटक लागेको पनि देखिन्छ।’ बालकले जबरजस्ती करणी गर्न खोजेको र बालिकाले प्रतिकार गरेको घटनास्थलबाट प्रारम्भिक रूपमा थाहा भएको उनको भनाइ छ। बारेकोट–६, ताँसीमा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आरोपित ती बालकलाई बिहीबार नियन्त्रणमा लिइएको सूचना अधिकारी तिमिल्सेनाले जानकारी दिए।
प्रहरीका अनुसार ती बालक बालिकाका कान्छा बुबाका साला नाता पर्ने व्यक्ति हुन्। उनी दिदी भिनाजुको घरमा माघ ३ गते आएका थिए। निर्दोष बालिकालाई जबरजस्ती करणीको प्रयासपछि हत्या गरिनु दर्दनाक घटना भएको महिला अधिकारकर्मीहरूले बताएका छन्।
यो घटनालाई राजनीतिकरण नगरी गम्भीरताका साथ लिनु पर्ने महिला अधिकारकर्मी हजारी नेपालीले बताइन्। ‘घटनापछि प्रहरी, प्रशासन पनि अनुसन्धानमा लागेको छ,’ उनले भनिन्, ‘कसैको दबाबमा नपरी निष्पक्ष छानबिन गर्ने प्रहरीले आश्वासन दिएको छ।’ यसभन्दा अघि बलात्कारका घटनामा केही राजनीतिक दबाब सिर्जना हुँदा न्याय निरूपणमा प्रभाव परेको भन्दै अधिकारकर्मी नेपालीले भनिन्, ‘यो घटनामा त्यस्तो हुन दिँदैनौँ। निष्पक्ष छानबिनमा सघाइ दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरीलाई दबाबसमेत दिनेछौँ।’
यो एउटा सामाजिक अपराध भएकाले अब उपरान्त यस्ता घटना हुन नदिन दोषीलाई छुटकारा नभई कारबाही हुनै पर्ने उनको भनाइ छ। यदि दोषी निर्दोष भए समाजमा अझ यस्ता घटनाले प्रशय पाइराख्ने उनी बताउँछिन्।
प्रकाशित: ११ माघ २०८१ १७:११ शुक्रबार