काउली, बन्दा र फर्सी मूल्य नपाउँदा किसान मर्कामा परेका छन्। वर्षौंदेखि व्यावसायिक खेती गर्दै आएका किसानले मूल्य नपाएको झोकमा काउली, बन्दा र फर्सीलाई बारीमै जोतेका छन्। पाँच रूपैयाँमा पनि बिक्री नभएपछि भरतपुर महानगरपालिका २४ र २५ का किसानले बाध्य भएर बालीमाथि नै जोतेका छन् भने केहीले नकाटी बारीमा त्यसै फालेका छन्।
भरतपुर महानगरपालिका–२४ नयाँबस्तीस्थित केरुंगा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा आबद्ध किसान अर्जुन पुरीले काउलीले कुनै पनि भाउ नपाएको भन्दै सहकारीकै ट्र्याक्टर प्रयोग गरी काउली बारी जोताइसकेका छन्। ‘बजारमा बिक्दै बिकेन अनि तरकारी बारीमा ट्र्याक्टरले जोत्नुपरेको हो’, उनले भने।
दश कठ्ठामा लगाएको तरकारी नबिकेपछि दुई लाख बढी घाटा भएको उनले बताए। ‘कुनै पनि उपाय नलागेपछि र बजारबाट पनि माग नआएपछि बाध्य भएर जोत्नुपरेको हो’, उनले भने। किसानलाई जोताइ खर्च नलागोस् भनेर सहकारीले आफ्नै ट्र्याक्टर निःशुल्क उपलब्ध गराएको छ।
काउली मात्र होइन, यतिखेर चितवनका किसानले लगाएको बन्दा र काउलीको बजारसमेत छैन। बजार नभएपछि नयाँ बस्तीका जगतराज पुरीले पनि बन्दा जोताएका छन्। ‘सस्तोमा बिक्री गर्दा लागत नउठ्ने भएपछि १० कठ्ठाको काउली नकाटी जोत्न बाध्य भएँ’, पुरीले भने, ‘यो वर्ष ठुलो घाटा बेहोर्नुपर्यो।’
अघिल्लो वर्ष किसानले धेरै काउली र बन्दा लगाए पनि बिक्री भएको थियो। राम्रो आम्दानी गरौंला भनेर बन्दा र काउली लगाए पनि यसपटक फाल्नुपरेको उनले बताए।
नयाँ बस्तीबाट भरतपुर– २५ स्थित बृद्धिचोकतर्फ आउँदा प्रेम रानाभाट फर्सी नबिकेर नष्ट गरिरहेको अवस्थामा भेटिए। १० कठ्ठामा लगाएको फर्सी भर्खर निस्किएको थियो। पाँच रूपैयाँमा पनि बिक्री भएन, फूलसहितका फर्सीका बेर्नातर्फ देखाउँदै उनले भने, ‘अझ अर्को प्लटमा १० कठ्ठामा लगाएको फर्सी फाल्न बाँकी नै छ।’
किसानलाई बजारीकरण नभएर समस्या भएको बताए। उनले १५ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्। साढे दुई बिघामा खेती गर्दै आएका रानाभाटको बन्दासमेत बिक्री भएको छैन। ‘बन्दा पाँच रूपैयाँ किलो भन्छन्। त्यही पनि लगिदिए हुन्थ्यो भन्ने मात्र भइरहेको छ’, उनले भने, ‘लागत मूल्य नै हाम्रो प्रतिकेजी १२ रूपैयाँ पर्न आउँछ। पाँच रूपैयाँ त टिप्ने खेतालालाई बुझाउन पनि पुग्दैन।’
उनीहरूजस्तै भरतपुर–२४ स्थित धुव्रकी रतिमाया गुरुङले पनि पाँच बिगाहामा लगाएको फर्सी जोतिन्। ‘पाँच बिगाहामा फर्सी थियो। केही लट राम्रै बिक्री भयो। पछिल्लो समय खेतालाको खर्च पनि नउठेपछि अन्तिममा जोतर फाल्नुपर्यो’, उनले भनिन्, ‘केही फर्सी दुई हप्तामा निस्कन्छन् त्यो पनि यस्तै भयो भने त धेरै घाटा हुन्छ। गुरुङले एग्रो नारायणी फर्म दर्ता गरेर ३० बिगाहामा तरकारी खेती गर्दै आएकी छन्। अहिले उनको बारीबाट टमाटर, क्याप्सिकन बजार गइरहेको छ।
बजारमा काउली, बन्दा र फर्सी धेरै भित्रिएपछि किसानले मूल्य नपाएका हुन्। तर उपभोक्ता भने चर्को मूल्यमा तरकारी उपभोग गर्न बाध्य छन्। भरतपुर बजारका खुद्रा पसलमा व्यापारीले प्रतिकेजी २५ रूपैयाँमा बन्दा र काउली बेचेका छन्। त्यसै २० रूपैयाँमा फर्सी बिक्री भइरहेको छ, तर भरतपुर तरकारी बजारमा बिहीबारको होलसेल मूल्य बन्दाको बाह्र र फर्सीको १० रूपैयाँ तोकिएको भरतपुर महानगर तरकारी बजारका सदस्य जयराम पाण्डेले बताए।
कृषि विकास कार्यालय चितवनले काउली, बन्दा र फर्सीको उत्पादन बढी भएकाले मूल्य पाउन नसकिएको बताएको छ, तर यहाँका किसान भारतबाट तरकारी आएका कारण आफ्नो तरकारी बिक्री नभएको बताउँछन्।
प्रकाशित: ११ माघ २०८१ ०९:२२ शुक्रबार