११ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

१२ लाख पुरानो हिउँ

यस्ताे पनि!

अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा टोलीले गएको बिहीबार अन्टार्कटिकाको सतहदेखि २.८ किलोमिटर गहिरो दुलो पारी त्यहाँको सबैभन्दा पुरानो हिउँको नमूना निकालेका छन्। यो हिउँ कम्तीमा पनि १२ लाख पुरानो रहेको वैज्ञानिकहरूको अनुमान छ। यो प्राचीन हिउँको जाँचपछि संसारको वातावरण र जलवायुमा कसरी परिवर्तन हुँदै आएको रहेछ भन्ने बुझ्न सहज हुने बताइएको छ।

इटालीका हिउँविज्ञ तथा वियोन्ड एपिका प्रोजेक्टका सहसंयोजक कार्लो बारबान्ते भन्छन्, ‘यो हिउँको नमूनाको सहयोगबाट हामीले ग्रीन हाउसको ग्यास, रसायन र वातावरणमा धूलोको स्तरमा के कस्ता परिवर्तन आएका रहेछन् भन्ने बुझ्न सघाउ पुग्नेछ।’

उनी इटालीको नेसनल रिसर्च काउन्सिलका पोलर साइन्स इन्स्टिच्यूटका निर्देशक पनि हुन्। यो टोलीले यसअघि आठ लाख पुरानो हिउँको नमूना निकालिसकेको छ। यस पटकको ड्रिलिङमा  १६ जना वैज्ञानिक समुहले काम गरेका थिए। उनीहरूले लगातार चार वर्षदेखि अन्टार्कटिकाको चिसो (औसतमा –३५ डिग्री सेल्सियस) मा काम गरेका थिए।

इटालीका शोधकर्ता फेडरिको स्कोटोले जनवरीमा ‘लिटिल डोम सी’ भन्ने ठाउँमा यो ड्रिलिङ गरेका थिए। आठ लाख वर्ष पहिले सबैभन्दा तातो अवस्थामा पनि कार्बन डाइअक्साइड र मिथेनजस्ता ग्रीनहाउसका ग्यासहरूको स्तर आजको स्तरभन्दा कम रहेको वैज्ञानिकहरूले बताएका छन्।

सन् २०२३ मा त ऊर्जा क्षेत्रबाट उत्पन्न हुने ग्रीनहाउस ग्यास उत्सर्जनले नयाँ कीर्तिमान बनाएको थियो। बारबान्ते भन्छन्, ‘कार्बनडाइअक्साइडको स्तर आठ लाख वर्षअघि जति त्यो अहिले त्योभन्दा ५० प्रतिशत बढी छ।’ पेट्रोल तथा डिजेल उत्खननपछि सारा पुराना कार्बन उत्सर्जन कीर्तिमान ध्वस्त हुन थालेका हुन्।

यो परियोजनाको अध्ययनपछि पृथ्वीको जलवायु र वातावरणको इतिहासलाई गहिरो गरी अध्ययन गर्न सकिने बताइएको छ। अब यसको अध्ययनपछि हिमयुगको सबैभन्दा पुरानो समयमा तापमान र ग्रीनहाउस ग्यासहरूबीच कस्तो सम्बन्ध थियो भन्ने जानकारी पनि पाइने बताइएको छ। साथै, यस अध्ययनले पृथ्वीको बढ्दो तापमानले यहाँ के के असर पार्छ भन्ने बुझ्न पनि सघाउ पुर्‍याउने छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ११ माघ २०८१ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App