९ माघ २०८१ बुधबार
image/svg+xml
समाज

अध्ययनमैत्री कक्षाकोठा नहुँदा अपाङ्गता भएकाहरू उच्च शिक्षा लिनबाट वञ्चित

तीन बुँदे मागसहित शिक्षामन्त्रीको ध्यानाकर्षण

अध्ययनमैत्री कक्षा कोठा र भवन नहुँदा अपाङ्गता भएका व्यक्तिहरू उच्च शिक्षा अध्ययनबाट वञ्चित हुने गरेका छन्।

काठमाडौंको जोरपाटीमा रहेको खगेन्द्र नवजीवन माध्यमिक विद्यालयबाहेक देशभरका कुनै पनि सामुदायिक विद्यालयका कक्षाकोठा अपाङ्गमैत्री नभएको उनीहरूको भनाइ छ।

शौचालयहरू पनि अपाङ्गमैत्री छैनन्। जसले विशेष गरेर विद्यार्थीहरूलाई समस्या हुने गरेको पाइएको छ। यसले अध्ययनमा ठूलो अवरोध पुर्‍याएको गुनासो उनीहरूको छ। 

काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा ह्विलचियर प्रयोग गर्ने छात्राहरुका लागि होस्टेलसहितको सुविधा उपलब्ध छ। क्याम्पसका सबै ठाउँमा उनीहरूको पहुँच नभए पनि तल्लो तलामा पढ्ने वातावरण सहज छ। पद्मकन्यामा अध्ययन गरेर केही महिला विद्यार्थीहरूले स्नातक तह उत्तीर्ण गरेर अहिले जागिरे बनेका छन्।

तर पुरुषहरूलाई कक्षा १२ भन्दा माथिको अध्ययन गर्न देशैभर कुनै पनि कलेज नरहेको उनीहरूको भनाइ छ। खगेन्द्र नवजीवन माध्यमिक विद्यालयबाट जेनतेन माध्यमिक तह पास गरेपनि सोपछिको समय भने कोठामै बस्न उनीहरु बाध्य बनेका छन्।

पुरुष ह्विलचियर प्रयोगकर्ता भएकै कारण सहज ढंगले पढ्ने अवस्था नरहेको बताउँदै उनीहरु कुनै कलेजमा भर्ना भएपनि नियमित विद्यालय जाने अवस्था नरहेको गुनासो गर्छन्।

मेरुदण्डीय पक्षधात समूह नेपालका उपाध्यक्ष झरना रानाले स्नातकोत्तर सकेपछि पक्षाघातको सिकार हुन पर्‍यो। उनलाई एमफिल गर्ने इच्छा थियो। त्रिभुवन विश्वविद्यालयमा भर्ना पनि भइन तर उनलाई त्यहाँको संरचनाले ज्यादै कष्ट दियो।

उनी हिँड्न एल्बो कर्च प्रयोग गर्छिन् तर एक तलामाथि जान उनलाई कष्ट हुन्थ्यो। ह्विलचियरमा बसेर पढ्थिन। उचित शौचालयको अभावमा उनलाई दिशा पिसाबको ज्यादै समस्या हुन्थ्यो। उनी भन्छिन् ‘मैले पढ्ने क्रममा भोगेका दुःखको कथा लेख्ने हो भने महाभारत जत्रो किताब बन्छ होला।’

मेरुदण्ड पक्षाघात भएका डोल्पाको काइके गाउँपालिकाका विजय रोकायले कक्षा नौदेखि १२ सम्म मेरुदण्ड पक्षाघात समूह नेपाल संस्थामा बसेर अध्ययन पूरा गरे। तर उचित संरचना नभएका कारण सोपछिको अध्ययनमा भने पूर्णविराम लाग्यो। अपाङ्गमैत्री कक्षाकोठा नहुँदा पढ्ने रहर भएर पनि भर्ना हुन नपाएको उनको भनाइ छ।

पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाका वरुण बुढा मगरको अवस्था पनि विजयसँग मेल खान्छ। ८ देखि १२ कक्षासम्म संस्थाको सहयोगमा खगेन्द्र स्कुलमा पढे पनि सोपछि उचित संरचनाको अभावमा उनले कलेज भर्ना हुन सकेनन्।

अध्ययनमैत्री कक्षा कोठा र कलेज नहुँदा कति विद्यार्थीहरू कलेज मात्र भर्ना भएर स्वः अध्ययन गरिरहेका छन्। उनीहरुले २ घण्टीको अनलाइन कक्षामा सीमित हुनुपरेको छ।

ह्विलचियर प्रयोगकर्ता विद्यार्थीहरूका लागि उचित संरचना बनाउने तीनै तहका सरकारमा नरहेको मेरुदण्डीय पक्षधात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाल बताउँछन्। आफू पनि मेरुदण्ड पक्षाघातको अवस्थाबाट गुर्जीरहेको बताउँदै उनले बारम्बार सङ्घीय र स्थानीय सरकारसँग आग्रह गरेपनि सुनुवाइ नभएको गुनासो गरे। सरकारी प्रतिनिधिसँगको भेटमा आवश्यक बजेट नभएको जवाफ मात्र आउने गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘अब त भन्दाभन्दै वाक्कदिक्क भइसके। अब पनि यस्तै अवस्था रहे आन्दोलनको विकल्प छैन। अनि मात्र सरकारको आँखा खुल्ला कि !’

यसैबिच उनीहरुले शिक्षामन्त्री विद्या भट्टराईलाई हालै भेटेर उच्च शिक्षा अध्ययनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेका छन्।

शिक्षामन्त्री भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाइँदै।

विद्यालय, कलेज र विश्वविद्यालय जस्ता शैक्षिक संस्थामा पूर्ण अपाङ्गतामैत्री संरचना बनाएर अपाङ्गता भएका व्यक्तिहरूको पढ्न पाउने नैसर्गिक हकलाई तत्काललाई सुनिश्चित गर्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको मेरुदण्डीय पक्षधात समूह नेपालका कोषाध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

जवाफमा मन्त्री भट्टराईले सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेर तत्काल कार्यान्वयनमा लैजाने आश्वासन दिएको भण्डारीको भनाई छ। जिल्लाभरिमा एउटा क्याम्पस अपाङ्गमैत्री हुनुपर्ने, विद्यार्थीको रुचिअनुसार काठमाडौंका क्याम्पसलाई अध्ययनमैत्री बनाउनु पर्ने लगायत माग राखिएको कोषाध्यक्ष भण्डारीले जानकारी दिए।

शिक्षामन्त्री भट्टराईले भेटमा शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई माग सम्बन्धमा तत्काल कारबाही अघि बढाउन निर्देशन दिएकी थिइन्।

संस्थाकी उपाध्यक्ष रानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले त्रिविका उपकुलपतिलाई समेत ध्यानाकर्षण पत्र बुझाउँदै त्रिविका सम्पूर्ण संरचना अपाङ्गतामैत्री हुनु पर्ने माग गरेको थियो।

नेपालको संविधानले, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावलीले प्रत्याभूत गरेका अधिकारलाई राज्य जानीजानी लत्त्याइरहेको आरोप अपाङ्गता भएका व्यक्तिहरूको छ। आफ्ना नागरिकलाई आधारभूत शिक्षाबाट वञ्चित गराइ रहेको उनीहरूको बुझाई छ।

प्रकाशित: ९ माघ २०८१ १९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App