लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीका लागि आवश्यक खेतीयोग्य जमिन खुम्चिँदै गएको छ । परम्परागत/निर्वाहमुखी कृषि प्रणालीमा निर्वाह रहनु, बढ्दो सहरीकरण तथा बजारीकरण र बसाइसराइका कारण यहाँको खेतीयोग्य जमिन खुम्चिँदै गएको हो ।
खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा १.३९ प्रतिशतले ह्रास भएको छ । गत वर्ष यस्तो क्षेत्रफल १.८३ प्रतिशत थियो । यो वर्ष सात लाख ७९ हजार सात सय २६ हेक्टर जमिन खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल कायम भएको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१ मा उल्लेख गरेको छ ।
समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमध्ये जौ, कोदो, आलु, गहुँ, भटमास र धान बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ भने फापर, मकै, उखु, दलहन र तेलहन बालीले ढाकेको क्षेत्रफलमा ह्रास आएको छ । जिल्लागत विश्लेषण गर्दा समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्न बालीले ढाकेको क्षेत्रफलमा सबैभन्दा धेरै हिस्सा बर्दिया जिल्लाको १४.७९ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्व जिल्लाको १.५१ प्रतिशत छ । समीक्षा वर्षमा उल्लेख गरिएअनुसार यस वर्ष भनेको आर्थिक वर्ष २०८०/०८१ र गत वर्ष भन्नाले २०७९/०८० लाई उल्लेख गरिएको छ ।
खाद्य तथा अन्य बालीको उत्पादन आर्थिक वर्ष २०७९/८० को तुलनामा ८.१८ प्रतिशतले वृद्धि भई ३२ लाख ४७ हजार ४९ मेट्रिक टन भएको छ । गत वर्ष यस्तो उत्पादन ३.५७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको कुल उत्पादनमध्ये दलहन, कोदो, धान, गहुँ र आलु बालीको उत्पादनमा वृद्धि भएको छ भने, फापर, जौ, भटमास, मकै र उखु बालीको उत्पादनमा ह्रास आएको छ । उन्नत बीउ बिजनको प्रयोग हुनुका साथै रासायनिक मल तथा किटनाशक औषधिको सहजताका कारण धान, मकै, गहुँलगायतका बालीहरूको उत्पादन बढेको छ । यस प्रदेशमा खाद्य तथा अन्य बालीको जिल्लागत उत्पादन विश्लेषण गर्दा सबैभन्दा धेरै योगदान कपिलवस्तु जिल्लाको २०.१५ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्व जिल्लाको १.०६ प्रतिशत योगदान छ ।
लुम्बिनीमा तरकारी बालीले ढाकेको क्षेत्रफल गत वर्षको तुलनामा ३.१२ प्रतिशतले वृद्धि भई ४४ हजार चार सय ८४ हेक्टर पुगेको छ भने गत वर्ष यसको क्षेत्रफल ३.०८ प्रतिशतले बढेको थियो । तरकारी बालीको उत्पादन गत वर्षको तुलनामा २.६३ प्रतिशतले वृद्धि भई पाँच लाख ७६ हजार दुई सय ८१ मेट्रिक टन पुगेको छ । गत वर्ष पनि यस्तो उत्पादन १.२२ प्रतिशतले वृद्धि भएको थियो । जिल्लागतरुपमा विश्लेषण गर्दा तरकारी बालीको उत्पादनमा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लाको १८.७५ प्रतिशत र सबैभन्दा कम प्युठान जिल्लाको २.४७ प्रतिशत छ ।
त्यस्तै फलफूलले ढाकेको क्षेत्रफल गत वर्षको तुलनामा ८.६३ प्रतिशतले वृद्धि भई २६ हजार पाँच सय ५१ हेक्टर कायम भएको छ । गत वर्ष फलफूलले ढाकेको क्षेत्रफल ६.४१ प्रतिशतले बढेको थियो । जिल्लागत विश्लेषण गर्दा लुम्बिनीमा फलफूलले ढाकेको क्षेत्रफलमा सबैभन्दा धेरै हिस्सा नवलपरासीको १७.६२ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्व जिल्लाको १.२८ प्रतिशत देखिएको । यस प्रदेशमा फलफूलको उत्पादन गत वर्षको तुलनामा ७.४२ प्रतिशतले वृद्धि भई दुई लाख ३९ हजार चार सय ८५ मेट्रिक टन पुगेको छ । गत वर्ष पनि यस्तो उत्पादन २७.२० प्रतिशतले वृद्धि भएको थियो । जिल्लागतरुपमा विश्लेषण गर्दा फलफूल उत्पादनमा सबैभन्दा बढी हिस्सा नवलपरासीको २६.४९ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्व जिल्लाको ०.८१ प्रतिशत छ ।
उक्त प्रतिवेदन अनुसार मसलाले ढाकेको क्षेत्रफल गत वर्षको तुलनामा ५.८२ प्रतिशतले ह्रास भई १२ हजार ६ सय ६३ हेक्टरमा सीमित भएको छ । मसलाले ढाकेको क्षेत्रफलमध्ये लसुन र बेसारले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ भने अन्य मसला, अलैँची, अदुवा र प्याजले ढाकेको क्षेत्रफलमा ह्रास आएको छ । समीक्षा वर्षमा मसलाको उत्पादन गत वर्षको तुलनामा ३.७७ प्रतिशतले ह्रास भई एक लाख १७ हजार आठ सय ५८ मेट्रिक टन भएको छ । गत वर्ष यस्तो उत्पादन २.८५ प्रतिशतले वृद्धि भएको थियो । जिल्लागतरुपमा विश्लेषण गर्दा मसला उत्पादनमा सबैभन्दा बढी हिस्सा रोल्पा जिल्लाको १५.६९ प्रतिशत र सबैभन्दा कम नवलपरासीको ४.०६ प्रतिशत छ ।
समीक्षा वर्षमा दूध उत्पादन गत वर्षको तुलनामा ७.४५ प्रतिशतले ह्रास भई पाँच लाख १३ हजार आठ सय ६६ हजार लिटर भएको छ भने गत वर्ष यस्तो उत्पादन ८.३५ प्रतिशतले वृद्धि भएको थियो । रुपन्देही, दाङ, नवलपरासी, अर्घाखाँचीलगायतका जिल्लामा व्यावसायिक गाई/भैँसी पालनबाट कृषक अन्य व्यवसायमा लागेका कारण समीक्षा वर्षमा गत वर्षको तुलनामा दूध उत्पादनमा ह्रास भएको हो । जिल्लागतरुपमा विश्लेषण गर्दा यस प्रदेशको दूधको उत्पादनमा सबैभन्दा धेरै हिस्सा रुपन्देहीको २२.५४ प्रतिशत र सबैभन्दा कम रुकुमपूर्वक ०.६८ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा मासुको उत्पादन गत वर्षको तुलनामा १२.७५ प्रतिशतले ह्रास भई ८५ हजार सात सय १७ मेट्रिक टन पुगेको छ भने गत वर्ष यस्तो उत्पादन २.१६ प्रतिशतले वृद्धि भएको थियो । रुपन्देही, दाङ, नवलपरासीलगायतका जिल्लामा व्यावसायिक भैँसी÷राँगो पालनमा कमी आएका कारण समीक्षा वर्षमा गत वर्षको सोही अवधिको तुलनामा मासु उत्पादनमा ह्रास भएको छ ।
समीक्षा वर्षमा मासु उत्पादनमध्ये संगुर/बंगुर र भैँसी/राँगोको मासु उत्पादन गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ३९.०९ प्रतिशत र २३.५१ प्रतिशतले ह्रास भएको छ भने कुखुरा र खसी÷बोका÷भेडाको मासु उत्पादनमा क्रमशः २३.८८ प्रतिशत र ७.७३ प्रतिशतले वृद्धि भएको छ । जिल्लागतरुपमा विश्लेषण गर्दा यस प्रदेशमा कुल मासु उत्पादनमा सबैभन्दा धेरै हिस्सा रुपन्देहीको १९.०५ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्व जिल्ला १.६८ प्रतिशत छ ।
यता अण्डा उत्पादन गत वर्षको तुलनामा ३२.९० प्रतिशतले ह्रास भई २२.४६ करोड गोटा भएको छ भने गत वर्ष यस्तो उत्पादन ३.२६ प्रतिशतले वृद्धि भएको थियो । माछा उत्पादन गत वर्षको तुलनामा ०.१८ प्रतिशतले वृद्धि भई १६ हजार ६ सय ९५ मेट्रिक टन पुगेको छ । गत वर्ष यस्तो उत्पादन १०.५७ प्रतिशतले वृद्धि भएको थियो ।
परम्परागत/निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषि प्रणालीमा जान आवश्यक पर्ने पूर्वाधार निर्माण नगर्नु तथा, समर्थन मूल्य निर्धारण गरी बजारको उचित व्यवस्थापन नहुँदा पनि खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घट्दो भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘कृषि नीति निर्माण गर्न आवश्यक पर्ने तथ्याङ्क एकद्वार प्रणालीबाट प्राप्त नहुनु, पशुपन्छी तथा माछापालनको लागि आवश्यक दाना सुलभ मूल्यमा उपलब्धता गराई पशुपन्छीजन्य उत्पादन तथा माछाको प्रतिस्पर्धी क्षमता अभिवृद्धि नहुनु,’ मुख्य समस्याका रुपमा भनिएको छ, ‘कृषि बालीमा बाँदर, बँदेल, नीलगाई, दुम्सीलगायतका वन्यजन्तुहरूका कारणबाट हुने क्षतिलाई न्यूनीकरण नहुनु, पशुपन्छीजन्य विभिन्न रोगको महामारी, प्राकृतिक प्रकोपका कारण हुने समस्याको सम्बोधन नहुनु र गर्मी याममा वन डढेलोले गर्दा वन जङ्गलको हानीनोक्सानीलाई न्यूनीकरण नगर्नु ।’
प्रकाशित: ७ माघ २०८१ १८:०९ सोमबार