७ माघ २०८१ सोमबार
image/svg+xml
समाज

म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गरिने

म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नंं ४ को घरमा जडान गरिएको सोलार ।

उज्यालो गण्डकी अन्तरगत म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न विद्युत् नपुगेका घरहरूमा धमाधम सोलार जडान सुरू गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले लघु जलविद्युत तथा केन्द्रीय प्रसारण लाइन नपुगेका घरहरूमा सोलार तथा मर्मत आवश्यकता भएकालाई ब्याट्री र मर्मत समेत गरेको छ ।

बस्तीभन्दा टाढा रहेको घर धुरीहरूमा तत्काल केन्द्रीय प्रसारण लाइन पुग्न असम्भव भएकाहरूलाई समेत सोलारमार्फत उज्यालो बनाउने नीति अनुसार धवलागिरि गाउँपालिकाको वडा नं ४ र ६ मा १ सय २० घरधुरीमा सोलार जडान गरिएको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर झलकमोहन ओझाले बताए।

‘टुकी बाल्न पर्ने घरधुरी कतै छुटेको भए सम्पर्क गर्न सकिन्छ,हामीले तत्कालै सोलार जडान गछौं’ कार्यालय प्रमुख ओझाले भने। केन्द्रीय लाइन र लघु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने र उपभोक्ताले २५ प्रतिशत खर्च गर्नुपर्छ । उपभोक्ताले गर्ने खर्चलाई स्थानीय तहमार्फत व्यवस्थापनका विषयमा समेत छलफल भइरहेको छ ।सूर्य रोसनी इडस्ट्रियल प्रालिद्धारा बिग्रिएको घरधुरीमा मर्मत तथा नयाँमा जडान गरिरहेको छ । एक घरमा सोलार जडान गर्न करिब १६ हजार खर्च हुन्छ ।

म्याग्दीमा करिब ९५ प्रतिशत घरधुरीमा उज्यालो पुगेको छ । जिल्लाको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जाका करिब २ सय ५० घरधुरी बाहेक४४ वडामा केन्द्रीय प्रसारण लाइन पुगेको भएपनि वडाभित्रका पातलो बस्तीसम्म नपुग्ने अवस्थामा सोलार अभियान प्रभावकारी हुने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘हामीले टुकी बाल्नुपर्ने अवस्थाको अन्त्य गदैं भविष्यमा सबै घरधुरीमा केन्द्रीय प्रसारण लाइन नै पु¥याउँछौ’ अध्यक्ष पुनले भने । उनले गण्डकी प्रदेशको अभियानलाई सघाउन आवश्यकता अनुसार सहयोग गर्ने बताए ।

राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरधुरी रहेकोमा नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्र अन्तर्गत २३ हजार विद्युत्का ग्राहक छन् । विद्युत् प्राधिकरणबाट जिल्लाको मालिका, धवलागिरि, रघुगंगा गाउँपालिका भित्रका बस्तीहरूमा चालु आवमा नै बिजुली बाल्ने गरी धमाधम काम गरिरहेको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । ‘उज्यालो म्याग्दी घोषणाका लागि तयारी अवस्था छ, हामीले सबै तिर काम अन्तिम चरणमा पु¥याएका छौ’ प्रमुख गामीले भने ।  म्याग्दीका स्थानीय तहले समेत विद्युत् नपुगेका बस्तीहरूमा विद्युत् जडानका लागि आवश्यक समन्वय गरिरहेका छन् । २०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत २० करोड बजेट विनियोजन भएपछि दुई हजार घरधुरीमा केन्द्रीय लाइन विस्तारको काम भइरहेको छ । 

प्रकाशित: ७ माघ २०८१ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App