७ माघ २०८१ सोमबार
image/svg+xml
समाज

मेची राजमार्ग अवरुद्ध हुन नदिन इलामबासीले गरे खबरदारी

इलाम राजदुवालीमाथिको मेची राजमार्ग मर्मत वा विकल्प खोज्न माग गरी इलाम जिल्ला प्रशासन कार्यालयको आँगनमा धर्ना दिएर नारा जुलुस गर्दै इलाम बासी । तस्बिर ः भीम÷नागरिक

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, राजदुवालीछेउको खण्ड स्तरोन्नति वा नयाँ विकल्प व्यवस्थित गर्न माग गर्दै इलामबासीले दबाब सुरु गरेका छन् । उनीहरूले जिल्लास्थित विभिन्न निकायमा धर्नासमेत दिई सरकारको ध्यानाकर्षण गरेका छन्।

इलाम बजारमा स्वस्फुर्त रूपमा भेला भएका स्थानीयले जिल्ला प्रशासन कार्यालय गई नारा–जुलुससमेत गरे । तत्काल राजमार्ग स्तरोन्नति गर्न वा विकल्प खोज्न ध्यानाकर्षण गरे । उनीहरूले राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङको यातायात ठप्प हुने भन्दै तत्काल मर्मत नगरिए आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।

सिडिओ कल्पना श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै स्थानीयले बर्खामा कुनै पनि हालतमा इलाममा गाडी बन्द नहुने गरी विकल्प खोज्न माग गरेका छन् । उनीहरूले सदरमुकामस्थित डिभिजन सडक कार्यालयमा समेत पुगेर मेची राजमार्गको राजदुवाली खण्डको स्तरोन्नति र विकल्पका लागि दबाब दिएका छन् । डिभिजनलाई छुट्टै ज्ञापन पत्र बुझाउँदै उनीहरूले तत्काल सडक सुधार कार्य अघि नबढाए चरणबद्ध आन्दोलनका साथ अघि बढ्ने जनाएका छन् ।

अभियानको नेतृत्व गरेका प्रकाश चापागाईंले आफूहरूले सात दिनभित्र कुनै न कुनै ‘रिजल्ट’ नआए आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिए । ‘यो पनि पहिलो चरणको आन्दोलन नै हो,’ उनले भने, ‘सात दिनभित्र कुनै नतिजा आएन भने दोस्रो चरणको आन्दोलन सुरु हुन्छ ।’ उनीहरूले दोस्रो चरणको आन्दोलनमा सडक डिभिजनलगायत विभिन्न कार्यालय र निकायमा तालाबन्दी, सडक संघर्षका कार्यक्रम गर्ने तयारी गरेका छन् ।

राजदुवाली क्षेत्रमा विगत वर्षहरूबाटै सडक भासिने, दबिने र पहिरो गई बाटो अवरुद्ध हुनेक्रम निरन्तर छ । गत असोजको पहिरोले यो क्षेत्रको करिब दुई सय मिटर सडक क्षतिग्रस्त बनाएको थियो । त्यति बेला करिब दुई साता सवारीका साधन बन्द भए । अहिले एकतर्फी सडक सञ्चालनमा छ तर पानी परिसक्दा बन्द हुने निश्चितझैँ  छ । मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिएको यो राजमार्गको अवस्था अहिले भयावह छ ।

झापाबाट इलाम आउने केचना–कञ्चनजङ्घा मार्गसमेत हाल निर्माण कार्य सुस्त रही पूर्ण सञ्चालनमा आउन सकिरहेको छैन । सिमलगोलाइबाट जोगमाई खोला हुँदै तिल्केनी र इलाम बजार आउने सडक भरपर्दो छैन भने खोलामा पुल छैन । उनीहरूले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ, ‘मुलुकको उच्च प्रशासनिक निकाय सम्माननीय ज्यूकै तहबाट मेची राजमार्गको उक्त क्षेत्रको मर्मत सम्भारका लागि सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखलाई तत्काल आवश्यक काम–कारबाही अगाडि बढाउन निर्देशन दिन तथा सम्बन्धित सरोकारका सबै निकायमा आवश्यक निर्देशनका लागि आम इलामेलीका तर्फबाट सादर अनुरोध गर्दछौँ ।’

उनीहरूले गत असोज र त्यसअघि पनि पटक–पटक राजदुवालीमा बिग्रेको सडकका कारण यात्रुले पाएको सास्ती स्मरण गराउँदै उद्योग, व्यापार–व्यवसाय, यातायात, पर्यटनलगायत सबै क्षेत्रमा राजमार्ग अवरोधले असर गरिरहेको गुनासो गरेका छन् । ‘यो असरको अहिलेसम्म कुनै निकायसँग हिसाब–किताबसमेत छैन । यसबारेमा सम्बन्धित निकाय र स्थानीय सरकार बेखबरजस्तै बनेका छन् भने यी निकायको मौनताको विषय आफैँमा लज्जास्पद रहँदै आएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘यही अवस्था मध्यनजर गरी इलामका विभिन्न सामाजिक संघ–संस्थामार्फत उक्त सडकको विषयमा सरोकारवाला निकाय सम्बन्धित मन्त्रालय तथा सम्माननीय प्रधानमन्त्रीज्यूसमेतको ध्यानाकर्षण गर्न तथा सामाजिक सञ्जालबाट व्यापक जनदबाब सिर्जना गर्ने कार्य भइरहेको छ । यसबाटसमेत आजका मितिसम्म ठोस निकास केही आएको देखिँदैन ।’

स्थानीयले अहिले भत्किएको ठाउँमा मेची राजमार्गको मर्मत सम्भार अल्पकालीन समाधान मात्र हुने भएकाले दीर्घकालीन समाधान खोज्न केचना–कञ्चनजङ्घा सडक नै द्रुत गतिमा निर्माण हुने व्यवस्था गर्नसमेत माग गरेका छन् । अभियानका अगुवा इलाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ईश्वर चिपालुले इलामबासीले कुनैपनि हालतमा राजमार्ग मर्मत गराएर वा विकल्प व्यवस्था गराएरै छाड्ने बताए । ‘हामीले यसअघि इलामबाटै बिजुली उत्पादन हुँदा इलाम लोडसेडिङको अन्धकारमा बस्नुपरेको बाध्यतालाई आन्दोलनबाटै हटाएका थियौँ,’ उनले भने, ‘यहाँ सर्वसाधारण नागरिक नजाग्ने हो भने सधैं अन्याय सहिरहनुपर्ने अवस्था छ ।’  

प्रकाशित: ७ माघ २०८१ १६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App