६ माघ २०८१ आइतबार
image/svg+xml
समाज

म कुटिदा प्रहरी रमिता हेरेर बसे: अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट हुँदा प्रहरी रमिता हरेर बसेको बताएका छन्।

आइतबार सर्वोच्च अदालत बार एसोसिएसनले त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्न आयोजित विरोध कार्यक्रममा बोल्दै उनले प्रहरीबाट धेरै ढिला प्रतिक्रिया आएको बताए।

उनले भने, “प्रहरीले सुरुमा रमिता मात्रै हेरेर बस्यो। प्रतिक्रिया दिन धेरै ढिला गर्‍यो। अहिले पनि अनुसन्धान तीव्र हुनुपर्ने हो, तर त्यसमा कुनै गति देखिएको छैन।”

त्रिपाठीले कर्तव्यपालनको क्रममा कानून व्यवसायीमाथि आक्रमण हुनु न्यायिक प्रक्रियामाथिको गम्भीर चुनौती भएको बताए। “न्यायको पवित्रतामाथि आक्रमण गर्ने अधिकार कसैलाई छैन,” उनले भने।

त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा सहकारी ठगी प्रकरणको बहसपछि बाहिर निस्किने क्रममा आक्रमण भएको थियो।

कालो पट्टी बाँधेर विरोध

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको विरोधमा आइतबार नेपाल बार एसोसिएसन परिसरमा कानून व्यवसायीहरूले कालो पट्टी बाँधेर प्रदर्शन गरे। सर्वोच्च अदालत बार एसोसिएसनको आह्वानमा आयोजित प्रदर्शनमा सहभागीहरू न्यायिक प्रक्रियामाथिको आक्रमणको कडा विरोध गर्दै दोषीलाई कारबाहीको माग गरे।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालत परिसरमै आक्रमण हुनु कानून व्यवसायीहरूको सुरक्षामा गम्भीर प्रश्न उठ्ने घटनाको रूपमा व्याख्या गरे। उनले भने, “लोकतन्त्रमा पेसा र व्यवसाय गर्ने अधिकार कुण्ठित हुन लागेको संकेत यो घटना हो। सरकार र अदालतले तत्काल ध्यान दिनुपर्छ।”

वरिष्ठ अधिवक्ता शम्भु थापाले त्रिपाठीमाथिको आक्रमणलाई निन्दनीय भन्दै राजनीतिक दलहरू र तिनका कार्यकर्ताहरूले यस्तो गतिविधिप्रति गम्भीर ध्यान दिनुपर्ने बताए। “जमात मिलेर न्यायलाई दुत्कार्ने प्रयास कुनै पनि पक्षका लागि उचित हुन सक्दैन,” उनले भने।

विरोधमा सहभागी कानून व्यवसायीहरूले त्रिपाठीमाथिको हातपातलाई न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भन्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गर्न माग गरे। “यो आक्रमण केवल त्रिपाठीमाथिको होइन, सिङ्गो कानून व्यवसायी समुदायमाथिको हो,” विरोधमा सहभागी एक अधिवक्ताले भने।

प्रकाशित: ६ माघ २०८१ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App