२६ फाल्गुन २०८१ सोमबार
image/svg+xml ४:३७ पूर्वाह्न
समाज

भारतमा २० वर्षदेखि हराइरहेका यी बाबुछोरा

सम्पर्कविहीन पतिको तस्बिर देखाउँदै तोरणकुमारी। तस्बिर: भीम/नागरिक

देउमाई नगरपालिकाको धुसेनीकी वृद्धा तोरणकुमारीले हातमा पति पदम चापागाईंको फोटो बोकेर हामीसँग फोटो खिचाइन्। भएको भए उनले आफ्ना माहिला छोरा प्रमोदको फोटो पनि यसैगरी अर्काे हातमा बोक्थिन् होली। त्यसक्रममा गहभरि टम्म आँसु भरिएपछि उनी मजेत्रोको सप्कोले पुछ्थिन्। ‘अब त आँसुसमेत सुकिसके,’ उनले भनिन्।

पतिका नाममा तोरणकुमारीलाई १८ वर्षदेखि यही तस्बिरको मात्रै सहारा छ। तीन छोरामध्ये जेठा र कान्छा साथमै छन्। बाबुसँगै गएका मानसिक समस्याका बिरामी प्रमोद पनि सम्पर्कमा छैनन्। घरमा प्रमोदको तस्बिरसम्म पनि नहुँदा उनलाई पिरमाथि पिर छ। २१ वर्षका छोरा उपचारका लागि भारतको राँची गएका पति पदम अहिलेसम्म घर नफर्किएको तोरणकुमारीले बताइन्।

घरमुली पदम आज आउलान्, भोलि आउलान् भन्दाभन्दै बाटो कुरिरहेकी पनि उनी बताउँछिन्। मान्छे मात्र नभएर बाबुछोरा यता छन् र त्यता छन् भनेर कुनै अपुष्ट खबरसमेत नआएको उनले सुनाइन्। ‘एकजना मात्र होइन, बाबु–छोरा नै हराएको झन्डै दुई दशक वर्ष भयो, अहिलेसम्म कुनै पत्तो भएन,’ उनले भनिन्, ‘उनीहरू आउने आशामा रुँदारुँदा अब त आँसुले पनि कसरी पुगोस्?’

२०६३ साउन १२ गते बुवा पदम छोरा प्रमोदलाई लिएर भारत हिँडेका थिए। त्यतिबेला घरगाउँमा फोन सुविधा सहज थिएन। हिँडेको करिब सात दिनपछि घरमा रहेको फोन (सिडिएमए) मा सम्पर्क गरेका रहेछन् पदमले।

‘फोनको घन्टी बज्यो। म तलामुनि थिएँ। तलामाथि कोठामा ठुली बुहारी फोनमा बोलिन्। बुबाले फोन गर्नुभएको रहेछ भनिन्,’ तोरणकुमारीले सम्झिन्, ‘घरको केही खबर सोधेर उहाँ (पदम) ले म अभियोगमा फसें भन्नसम्म भ्याउनुभएछ। बुहारीले भनेअनुसार त्यति भनेपछि उहाँको फोन कसैले खोसेजस्तो बुझियो। त्यसपछि तारन्तार फोन गर्दा कहिल्यै लागेन।’

भारत गएका बुबा र भाइको थप खबर नआएपछि वैदेशिक रोजगारीमा कतारमा रहेका जेठा छोरा सुरेन्द्र फर्किए। स्थानीय कालिकादेवी प्राथमिक विद्यालयका शिक्षकसमेत रहेका बुवा पदम र भाइ प्रमोदलाई खोज्न सुुरेन्द्र भारत गए। फोनमा भनेको स्थानमा पुग्दा पनि केही पत्ता लागेन। सुरेन्द्र अन्ततः राँचीकै अस्पताल पुगे। त्यहाँ पनि पदम र प्रमोद बिरामीका रूपमा पुगेको पाइएन। भाइ प्रमोदलाई भारत लाँदा बुवा पदम ५३ वर्षका रहेको सुरेन्द्रले सुनाए।

‘भारतको कोलकातास्थित पश्चिम वर्दमानको अलैंची संस्था भन्ने स्थानबाट फोन आएको भनिएको थियो,’ सुरेन्द्रले भने, ‘त्यहाँ पुुगेर पुलिस थानामा पनि हुलियासहित सोधखोज गरियो। पुलिसले ढिलो खबर भयो भन्ने जबाफ दियो। बुबाको फोन आएको करिब एक महिनापछिको कुरा थियो त्यो।’

सुरेन्द्रका अनुसार छोराको उपचार गर्न पदमले आफ्ना साथमा ६० हजार रूपैयाँ पनि बोकेका थिए। ‘त्यही पैसाका कारण पनि बुबालाई अप्ठ्यारोमा पारिएको हुन सक्ने अनुमान मात्रै गर्न सकिन्छ। भाइ त बिरामी थियो। उसले भेउ पाउने अवस्था थिएन,’ सुरेन्द्रले भने।

पदम र प्रमोद फर्कने आशामा छ उनको परिवार अहिले पनि। ‘उहाँले परिवार बिर्सनुहुन्छ भन्ने लाग्दैन। भरे–भोलि उहाँहरू टुप्लुक्क आउनुहुन्छ कि भन्ने आशा भइरहन्छ अहिले पनि,’ तोरणकुमारीले सुनाइन्।

एसएलसी पास गरेपछि प्रमोद सशस्त्र द्वन्द्वमा लागे। उनी विद्रोही समूहमा थिए तर घर फर्केपछि उनमा मानसिक समस्या आइलाग्यो। त्यसपछि उनलाई उपचार गराउन बुबा पदमले भारत लिएर गएका हुन्। तोरणकुमारीको परिवारमा अहिले उनका जेठा छोरा सुरेन्द्र, कान्छा छोरा विमल र उनीहरूका परिवार छन्।

प्रकाशित: ४ माघ २०८१ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App