४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

नाम बिक्न छाड्यो हार्वर्डको!

यस्ताे पनि!

संसारकै प्रख्यात विश्वविद्यालयका रूपमा परिचित हार्वर्ड विश्वविद्यालयमा पढ्न विद्यार्थीहरू हत्ते गर्छन्। नगरुन् पनि किन, यहाँ पढेको भन्नेबित्तिकै संसारभर तिनका विद्यार्थीले काम पाइहाल्छन्। अरू त अरू, त्यहाँ तालीम लिएकाहरूसमेत आफू हार्वर्ड प्रशिक्षित भन्दै ध्वाँस लगाउँछन्।

अहिले भने त्यो ध्वाँसले काम नगर्ने देखिएको छ। हार्वर्ड विश्वविद्यालयमा सन् २०२४ मा उच्च अध्ययन गरेका २० प्रतिशत व्यवस्थापनका विद्यार्थीहरूले खोजेजस्तो काम नै पाएको देखिएको छ। द वाल स्ट्रिट जर्नलका अनुसार, सन् २०२२ मा गरिएको सर्भेमा भने शिक्षाअनुसारको काम नपाएको गुनासो गर्नेहरूको प्रतिशत १० मात्र थियो।

‘अब हार्वर्डमा पढ्नु र अन्यत्र पढ्नुको कुनै फरक नरहने भयो,’ हार्वर्डका पूर्वविद्यार्थीहरूको समूहको जागिरवृत्ति हेर्ने निकायका प्रमुख क्रिस्टेन फिजपेट्रिकले भने, ‘अब प्रमाणपत्रभन्दा पनि कौशलले काम गर्ने दिन शुरु भए।’

त्यसो त हार्वर्डको प्रमाणपत्रले मात्र काम नगरेको होइन। एमबीए पढाउने उच्च गुणस्तरको शिक्षा दिने भनेर संसारमै ख्याति कमाएका पेन्सिलभेनिया विश्वविद्यालयको ह्वार्टन स्कूल, स्टानफोर्डको ग्रयाजुएट स्कूल अफ बिजनेस तथा न्यूयोर्क विश्वविद्यालयको स्टर्न स्कूल अफ बिजनेसमा अध्ययनरत विद्यार्थीहरूले त काम नै पाउन छाडेको धेरै भइसकेको छ। यहाँबाट दीक्षित भएर एक हजारभन्दा धेरै ठाउँमा जागीरका लागि आग्रह गरिएको भए पनि नपाएका कयौं घटनाहरूबारे विश्वविद्यालय तथा अन्यत्र चर्चा चल्न थालेका छन्।

खासगरी ठूला रोजगारदाता कम्पनीरु एमेजन, गूगल तथा माइक्रोसफ्टहरूले एमबीएबाट दीक्षितहरूलाई जागीर दिन छाडेपछि यस्तो अवस्था आएको जर्नलले जनाएको छ।

उम्दा विश्वविद्यालयबाट दीक्षित भएको तीन महीनाभित्रमा कसैले जागीर पायो भने उसले सोचेजस्तो काम पाउँछ, अन्यथा जागीर नै नपाउने अवस्थासमेत आइसकेको केही विद्यार्थीको गुनासो बढेर गएको छ।

यसरी दीक्षान्त समारोहको तीन महीनाभित्र काम नपाए जागीरै नपाउने अवस्था २०२३ मा पाँच प्रतिशत थियो भने अहिले बढेर १० प्रतिशत पुगेको देखिएको छ। जबकि पहिले शतप्रतिशत जागीरको सुनिश्चितता हुने गर्थ्याे। पहिले स्वयं कम्पनीहरू हार्वर्डमा जागीर दिन पुग्थे। अहिले भने पुग्नै छाडेका छन्।

प्रकाशित: ४ माघ २०८१ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App