प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ । सोलुखुम्बुको चौलाखर्क लिखुखोलामा जन्मिएका बस्नेतको ९८ वर्षको उमेरमा निधन भएको हो ।
राणा शासन हटाउने २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाएका बस्नेत राणा शासनविरुद्धको आन्दोलनमा मुक्ति सेनामा सोलुखुम्बु जिल्लाको लिखुखोला क्षेत्रबाट कमाण्डर भएर पूर्व कब्जा गर्दै चरिकोटसम्मको प्रजातन्त्र प्राप्तिको लडाइँमा प्रत्यक्ष नेतृत्व गरेका थिए ।
२०१५ सालको आमनिर्वाचनमा पूर्व ३ नं। क्षेत्रबाट नेपाली कांग्रेसलाई निर्वाचित गराउन बस्नेत परिवारको ठूलो योगदान रहेको नेपाली कांग्रेसका नेताहरू बताएका छन् । कांग्रेसले २०१५ सालमा दुई तिहाइ बहुमतको सरकार गठन गरेपछि पार्टी निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलन भएको थियो । सो सम्मेलनमा देवीध्वज बस्नेत पूर्व ३ नं. बाट प्रतिनिधि चुनिएर केन्द्रीय बुद्धिजीवी सभाको सदस्य निर्वाचित भएका थिए ।
बस्नेत पञ्चायत कालमा सोलुखुम्बुको साबिक चौलाखर्कमा जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । साथै २०४९ को स्थानीय निर्वाचनमा चौलाखर्क गाविसको अध्यक्ष भएका थिए । बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक एवं संविधान सभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेतको दाजु तथा पूर्वमन्त्री अम्बिका बस्नेतको काका हुन् । स्व.बस्नेतका एक छोरा केशवध्वज बस्नेत तथा दुई छोरी अनारदेवी बस्नेत र अंगुर बस्नेत छन् ।
प्रकाशित: १ माघ २०८१ १७:०२ मंगलबार