गौरीगंगा–८, बढैपुरका किसान जीवन चौधरीले माघी पर्वका लागि साँचेर राखेको बंगुर एक हप्ता अघि नै म¥यो । कान पुच्छर र पेटको तल्लो भागको बाहिरी छालामा रातो भएर उच्च ज्वरोले गर्दा बंगुर मरेपछि धूमधामसँग माघी मनाउने उनको सपना तुहियो । उनको खोरमा रहेको अर्को बंगुर पनि उच्च ज्वरोले थला परेको छ । उनी जस्तै घोडाघोडी नगरपालिका–९, का किसान परदेशु चौधरीले पालेका ३८ बंगुर मरेका छन् ।
पश्चिम तराईका थारु समुदायको महान् पर्व माघीमा सुँगुर तथा बंगुरको मासु नभई हुँदैन । यही समयमा कैलालीका बंगुर तथा सुँगुर पालक किसानका खोर अफ्रिकन स्वाइन फिभरका कारण रित्तिन थालेका छन् । आफूले जिता (पुस मसान्त) का दिन बंगुरको मासु बेचेर माघी मनाउने सपना सोचेको बताउँदै जीवनले भने,‘अफ्रिकन स्वाइन फिभरका कारण ठूलो भएको बंगुर म¥यो ।’ अहिले खोरमा रहेका अन्य बंगुरका पाठापाठी तथा माउ पनि बिरामी परेको उनले बताए । उनले भने,‘बंगुरका पाठापाठी भकाभक बिरामी पर्न थालेका छन्, यस्तै हो भने खोर नै रित्तिने हो कि भन्ने चिन्ता थपिएको छ ।’
माघ १ गतेका अर्थात् माघीका दिन थारु समुदायलाई बंगुर तथा सुँगुरको मासु नभई हुँदैन । तर, यही समयमा अफ्रिकन स्वाइन फीभरले बंगुर तथा सुँगुर बिरामी पर्दा स्वस्थकर मासु सेवनबाट थारु समुदाय वञ्चित छन् । गाउँमा बंगुर बिरामी परेका छन् । मर्ने डरले किसान बिरामी परेकै अवस्थाको बंगुर काटेर खाने खान सक्ने भएकाले यो बेला जनचेतना जगाउनु आवश्यक रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका डा. विनोद सन्जेल बताउँछन् ।
‘अहिले किसानका बंगुर तथा सुँगुर अफ्रिकन स्वाइन फिभरका कारण बिरामी छन्, यस्तो बेलामा बिरामी सुँगुर तथा बंगुरको मासु खानु हुँदैन,’ उनले भने,‘किसानलाई स्थानीय तहमा रहेका पशु कार्यालयका कर्मचारी तथा चिकित्सकले जनचेतना जगाउनु जरुरी छ ।’ बिरामी बंगुरको मासु ओसार पोसारले पनि स्वस्थ बंगुर तथा सुँगुरलाई अफ्रिकन स्वाइन फिभर सर्ने गरेको बताउँदै उनले भने,‘यो बेला बिरामी भएको बंगुर तथा सुँगुर काट्नु हुँदैन ।’
कैलालीको घोडाघोडी तथा गौरीगंगाको गाउँ गाउँमा गएर आफूहरूले बिरामी सुँगुर तथा बंगुरको स्वास्थ्य परीक्षण गरेको बताउँदै नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) जिल्ला कार्यसमिति कैलाली अध्यक्ष विमल जोगीले भने,‘अफ्रिकन स्वाइन फीभरले बंगुर पालक किसान पीडित बनेका छन्, यो बेला हामी पनि किसान कहाँ पुगेर बंगुरको स्वास्थ्य जाँच गर्नुका साथै किसानलाई सल्लाह दिएका छौँ ।’
थारु समुदायका माघी पर्व नजिकै रहेकाले यो बेला बढी जसो बंगुरको मासु खाने भएकाले पनि किसानलाई सचेतना अपनाउन आफूहरूले सल्लाह दिएको उनले बताए । ‘हामीले बिरामी बंगुरलाई नमार्न सल्लाह दिएका छौँ,’ उनले भने,‘यो बेला जैविक सुरक्षामा जोड दिन भनेका छौँ ।’
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको जोखिम उच्च रहेको उनी बताउँछन् ।
प्रकाशित: २८ पुस २०८१ १८:१९ आइतबार