भक्तपुर नगरपालिका–१० महालक्ष्मी, थालाछेंका इन्जिनियर कृष्णभक्त दुवालको पारिवारिक पृष्ठभूमि इँटा व्यवसायमा आधारित छ। उनका दाजु आज पनि इँटाभट्टा सञ्चालन गरी इँटा उत्पादनमा सक्रिय छन्। उच्च शिक्षित दुवाललाई सधैं भूकम्प प्रतिरोधी निर्माण सामग्री विकास गर्ने हुटहुटीले प्रेरित गरिरह्यो।
नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्र मानिँदै आएको छ। यसै जोखिमलाई न्यून गर्न सकिने उपायहरूको खोजीमा दुवालले आफ्नो यात्रा सुरु गरे। चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीबाट पिएचडी गरिरहेका उनी अनुसन्धानमा गहिरो रुचि राख्छन्। इँटाको विकल्प खोज्न उनी सन् २०१० देखि २०१४ सम्म हलुका निर्माण सामग्रीको अध्ययन र विकासमा सक्रिय रहे।
सन् २०१४ मा उनले नेपालमै पहिलोपटक इको प्यानल उत्पादन सुरु गरे। इको प्यानल, इँटाको विकल्पमा प्रयोग हुने हलुका र भूकम्प प्रतिरोधी निर्माण सामग्री हो। यस प्रविधि बहराइनको हो भने मेसिन चीनबाट आयात गरिएको हो। दुवालको कम्पनीमा बहराइनको पनि लगानी थियो।
दुवालले इटाभट्टालाई वातावरणमैत्री नभएको ठहर गर्दै नवीकरणीय ऊर्जा र निर्माण प्रविधिमैत्री क्षेत्रतर्फ ध्यान केन्द्रित गरे। उनले भक्तपुरको झौखेलमा इको प्यानल उद्योग स्थापना गरे, जसले आज नेपालका लगभग सबै जिल्लामा आफ्नो नेटवर्क विस्तार गरिसकेको छ।
महाभूकम्पपछिको प्रभाव
२०७२ सालको महाभूकम्पले नेपालमा ठूलो जनधनको क्षति गर्यो। तर, भूकम्पपछि भौतिक संरचनामा इको प्यानलजस्ता भूकम्प प्रतिरोधी सामग्रीको महत्त्व अझ प्रस्ट भयो। यही समय दुवालको व्यवसायले कोल्टे फेर्यो। ‘भूकम्प रोक्न नसकिए पनि हलुका निर्माण सामग्री प्रयोग गरेर क्षति न्यूनीकरण गर्न सकिन्छ,’ उनी भन्छन्।
दुवाल सम्झन्छन्, ‘हामीले उद्योग सुरु भूकम्पअघि नै गरिसकेका थियौं। भूकम्पको समयमा पनि उद्योगको काम चलिरहेको थियो। कतिपयले मजाकमै “भूकम्प आउने थाहा पाएर उद्योग चलाएको हो ?” भनेर जिस्क्याउँथे।’
भूकम्पपछि इको प्यानलको माग आकासिएसँगै दुवालको व्यवसायले गति लियो। ‘इको प्यानल सुरु भूकम्पअघि नै भएको हो, तर महाभूकम्पपछि यसको उपयोगिता बुझाउन सजिलो भयो,’ उनी बताउँछन्।
इन्जिनियर दुवालले नेपालमा इको प्यानलको उत्पादन र वितरणलाई सफलतासाथ अगाडि बढाइरहेका छन्। भूकम्प प्रतिरोधी निर्माण सामग्रीको प्रयोगलाई विस्तार गर्न उनी अहिलेसम्म सक्रिय छन्। इको प्यानलको प्रविधि बुझाउन कठिनाइ भए पनि उनी हार मान्ने पक्षमा छैनन्।
‘धेरै व्यवसाय गरियो, तर इको प्यानलले नै मलाई सफल र चिनिने बनायो,’ उनी भन्छन्।
दुवालले पुल्चोक इन्जिनियरिङ कलेजबाट नवीकरणीय ऊर्जा विषयमा मास्टर्स गरे। नेपाल इन्जिनियरिङ कलेजमा उनले एक दशकभन्दा बढी शिक्षण गरिसकेका छन्। हजार भन्दा बढी विद्यार्थीलाई पढाएका दुवालले भूकम्प प्रतिरोधी निर्माण सामग्रीमा आफ्नो ज्ञान र अनुभव साटिरहेका छन्।
इन्जिनियरिङका विद्यार्थीहरूका लागि ‘कृष्ण सर’ को परिचय अब एक जुझारु उद्यमीको रूपमा स्थापित भएको छ। भूकम्प प्रतिरोधी निर्माण सामग्रीमा क्रान्ति ल्याउने यो यात्रामा दुवालको नाम अग्रपंक्तिमा रहने निश्चित छ।
प्रकाशित: २७ पुस २०८१ १५:०१ शनिबार