प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन अर्थात् माघको १ गते हामी माघे संक्रान्ति मनाउँछौं। माघे संक्रान्तिलाई मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ। माघे संक्रान्तिको दिनबाट सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर संक्रान्ति पनि भनिएको हो। सूर्यको उदय दक्षिणबाट उत्तरतिर सर्ने भएकाले उत्तरायण सुरु हुन्छ। माघे संक्रान्तिको दिनबाट जाडो घट्दै जाने र गर्मी बढ्दै जाने मान्यता छ।
नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले माघे संक्रान्तिलाई आआफ्नो परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।
यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, राम्धी, तिलोत्तमा तथा सेतीवेणी लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठुलो भिड लाग्छ। यस पर्वमा स्नानसँगै दानको पनि उत्तिकै महत्त्व छ। माघे संक्रान्ति नेपालभरि विभिन्न पवित्र मठमन्दिरमा रहेका नदीमा स्नान गरी पूजाआजा गरेर घिउ, चाकु, तिलको लड्डु, उसिनेको तरुल, खिचडी आदि खाने चलन छ।
घिउ
घिउ माघे संक्रान्तिमा खाइने मुख्य परिकार हो। यो स्वास्थ्यका लागि फाइदाजनक एक किसिमको परिकार हो। घिउले मुटुलाई स्वस्थ राख्छ भने क्यान्सरको खतरालाई घटाउने काम समेत गर्छ। यसको सेवनले छाला स्वस्थ राख्नुका साथै स्मरण शक्तिमा पनि सकारात्मक प्रभाव पार्छ। यसको सेवनले मधुमेह र मोटोपनको समस्या हटाउन पनि मद्दत गर्छ। यसले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत बलियो बनाउन सघाउँछ। कब्जियतका बिरामीलाई घिउ सेवन निकै फाइदाजनक हुन्छ। यसले आरामदायी निद्रामा सहयोग पु¥याउँछ।
चाकु
पानीमा सक्खर राखेर लामो समयसम्म पकाएर तातो सेलाएपछि रङ परिवर्तन नहुँदासम्म फिटेर चाहिने मात्रामा किसमिस, काजु, नरिवल मिसाएर केही समय खुला छोडेपछि चाकु तयार हुन्छ। यो खाँदा जति स्वादिष्ट हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। यसमा कार्बोहाइड्रेड, क्याल्सियम, फोस्फोरस र आइरन जस्ता तत्त्व प्रचुर मात्रामा पाइन्छ। यसको सेवनले शरीरमा गर्मी पैदा गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। यसको सेवनले भोक लाग्नुका साथै शरीरमा रगत पनि बढाउँछ। यसका अतिरिक्त कब्जियत, पेटको दुखाइ, पाचन प्रणाली बलियो हुने, अपच नहुने आदिबाट छुटकारा मिल्छ।
तिलको लड्डु
तिलमा सक्खर मिसाएर तिलको लड्डु बनाइन्छ। तिलको लड्डु स्वादिष्ट हुनुका साथै हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ। जाडो मौसममा तिलको लड्डु खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। तिलमा चिल्लो प्रचुर मात्रामा पाइन्छ। यसमा फाइबर, प्रोटिन, क्याल्सियम, भिटामिन बी कम्प्लेक्स, कार्बोहाइड्रेड र चिल्लो जस्ता तत्त्व पाइन्छ। यसका साथै यसमा सेसमिन एन्टिअक्सिडेन्ट हुन्छ, जसले केही रोगहरू निको पार्न मद्दत गर्छ। तिलको लड्डुको सेवनले रगत शुद्धीकरण गर्नुको साथै ब्लड प्रेसर पनि नियन्त्रण गर्छ।
तरुल
तरुल माटोमुनि फल्ने कन्दमुल हो। यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याका लागि उपयुक्त मानिएको छ। जाडोमा यसको सेवन एकदमै लाभदायक मानिन्छ।
यो स्वास्थ्यका लागि लाभदायक खाद्यपदार्थ हो। यसमा प्रोटिन, ग्लुकोज, मिनिरल, कार्बोहाइड्रेट र विभिन्न प्रकारका भिटामिन पाइन्छ। यसको सेवनले छाला तथा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुसम्बन्धी समस्यामा फाइदा गर्छ। यसमा भएको कार्बोहाइड्रेटले गर्दा शरीरमा ऊर्जा दिन्छ। त्यसैले यसलाई शक्तिवर्धक खानेकुराका रूपमा लिइन्छ। यसमा पाइने एन्टी अक्सिडेन्टले क्यान्सरसँग लड्न सक्ने क्षमता वृद्धि गर्छ।
खिचडी
खिचडी माघे संक्रान्तिमा खाइने अर्को परिकार हो। मासको दाल, घिउ र चामल मिसाएर बनाइएको यो परिकार निकै स्वादिलो हुन्छ। यसले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने भएकाले यसको सेवन स्वास्थ्यका दृष्टिकोणले निकै लाभदायक मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ।
जाडो महिनामा पर्ने माघे संक्रान्तिमा स्नान गरी यी खानेकुरा खाएमा शरीरमा गर्मीको मात्रा बढेर तागत बढ्ने र शरीरमा तेल लगाउँदा छालासम्बन्धी अन्य रोगहरू नष्ट हुने विश्वास गरिन्छ। यसका पछाडि वैज्ञानिक आधार पनि छ।
जाडो मौसममा शरीरमा गर्मीको आवश्यकता पर्छ। माघे संक्रान्तिमा खाइने खानेकुरामा प्रशस्त मात्रामा पौष्ट्रिक तŒव पाइने भएकाले स्वास्थ्यका हिसाबले पनि निकै राम्रो मानिन्छ।
प्रकाशित: २७ पुस २०८१ ०९:२२ शनिबार