ताप्लेजुङ र पाँचथरका सुरक्षा अधिकारीहरूको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापन सम्मका बिषयमा सहकार्य गर्ने निष्कर्षमा सकिएको छ ।
बैठकमा पाँचथर र ताप्लेजुङको सडक लाइफलाइनको रुपमा रहेको पुलविहीन हेंवाखोलामा बेलिब्रिज निर्माण सम्मको बिषयमा गम्भीर छलफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
गत असोज १२ गते देखि आएको बाढी र पहिरोले हेंवाखोलामा रहेको बेलिबिज्र बगाएपछि अहिले हेंवाखोलामा अस्थायी डाइभर्सनमार्फत सवारी आवागमन भइरहेको छ । हेंवाखोलामा तत्काल बेलिब्रिज निर्माण नगर्ने हो भने बर्षायाममा सवारी आवागमन सञ्चालन हुन नसक्ने ठहर बैठकले गरेको छ । ताप्लेजुङ–पाँचथर सीमा क्षेत्र कावेलीमा भएको दुई जिल्लाका सुरक्षा अधिकारीहरूको बैठकले सुरक्षा समन्वय,अपराध नियन्त्रण,लागु औषध नियन्त्रण, विपद् व्यवस्थापन सहितका बिषयमा दुई जिल्लाका सुरक्षा अधिकारीबिच समन्वयात्मक सम्बन्ध स्थापित गर्ने निर्णय लिएको हो।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मा र पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा सहभागी अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा दुबै जिल्लाका नेपाली सेनाका गण तथा गुल्मका प्रमुख,जिल्ला प्रहरी प्रमुख,सशस्त्र प्रहरी बलका जिल्लास्थित गुल्म प्रमुख र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृतहरू सहभागी थिए ।
प्रकाशित: २६ पुस २०८१ १२:५२ शुक्रबार