२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

यात्रुबाहक जीप तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध मुद्दा दर्ता

तोडफोडबाट क्षति भएको जीप। तस्बिरः महेश्वर/नागरिक

खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक जीप टाटा सुमोमा तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ। बुधबार साँझ ना १ ज ६१७२ नम्बरको सुमोमा तोडफोड गरेको आरोपमा काभ्रे प्रहरीद्वारा पक्राउ १३ जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको हो।  

दिक्तेलदेखि काठमाडौँ जाँदै गरेका खोटाङको तुवाचुङ मारातिका यातायात प्रालिको जीपमाथि बीपी लोकमार्गअन्तर्गत काभ्रेको भकुण्डेबेँसीस्थित पातले खेतमा एक समूहले तोडफोड गरेको थियो। जीपको चारैतिरबाट आक्रमण हुन थालेपछि चालक केबलकुमार राईले झ्याल बन्द गरेर भगाउँदै काभ्रे प्रहरी कार्यालय यात्रु र आफूलाई बँचाएका थिए। उनकै मौखिक उजुरीका आधारमा खोजतलासको क्रममा प्रहरीले १३ युवालाई पक्राउ गरी ‘आपराधिक उपद्रव कसूर’ अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालेको हो।

सार्वजनिक यातायातका सवारी साधनमाथि तोडफोड गरेको आरोपमा ‘मुलुकी अपराध संहिता २०७४ को दफा २८५’ बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेले बताए। उनका अनुसार थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थपिएको छ। प्रहरीले आक्रमणकारी सवार २ वटा नीजि कारसमेत नियन्त्रणमा लिएको उनले बताए।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका १० का ३९ वर्षीय राजेश परियार, ८ का २६ वर्षीय विजय तामाङ, महाभारता गाउँपालिका ३ का २६ वर्षीय छोइकु दोङ, नमोबुद्ध नगरपालिकाका २६ वर्षीय ब्राण्डेट लामा, तेमाल गाउँपालिका ७ का तेन्जिङ तामाङ, तेमाल ५ मै घर बताउने २६ वर्षीय युक्स तामाङ र १८ वर्षीय भिसान तामाङ छन्।

त्यस्तै बेथानचोक गाउँपालिका ६ का २४ वर्षीय सुनिल तामाङ र रोशी गाउँपालिका १२ का २२ वर्षीय आदेश स्याङ्तान छन् भने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ११ का २३ वर्षीय नरेन्द्र माझी र २४ वर्षीय सुनिल माझी छन्। सिन्धुलीको घ्याङलेक गाउँपालिका ४ का २६ वर्षीय प्रेम श्रेष्ठ, दाङको घोराही उपमहानगरपालिका ११ का ३२ वर्षीय टेकबहादुर पुन पनि घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

सार्वजनिक यातायातमाथि आक्रमण गरेको मुद्दा प्रमाणित भए ३ वर्षसम्म कैद ३० हजार रुपैयाँसम्म जरिवाना वा बिगो बराबरको क्षतिपूर्ति तिर्नुपर्ने कानूनी प्रावधान रहेको प्रहरी भनाइ छ।

प्रालिका अध्यक्ष टेकिन्द्र राईले यात्रु लिएर काठमाडौँ हिँडेको सुमोमाथि तोडफोड गर्नु अमानवीय भएको भन्दै कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्। मादक पदार्थ सेवन गरेर सार्वजनिक यातायातमा सवार यात्रुलाई त्रसित बनाउने अराजक गतिविधि गर्नेहरु कारबाहीको दायरामा आउनुपर्ने माग उनको छ। गाडीमा भएको क्षतिपूर्तिको पनि अध्यक्ष राईले माग गरेका छन्।

प्रकाशित: २६ पुस २०८१ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App