भक्तपुरका उद्योगी एवं व्यवसायीहरूले खेतीयोग्य जमिन संरक्षणमा सम्बन्धित निकायहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। आर्थिक विकासको प्रमुख आधारमध्ये एक कृषिको व्यावसायिक विकासका लागि कृषियोग्य जमिन संरक्षणमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।
भक्तपुर उद्योग वाणिज्य संघको बुधबार भक्तपुरमा भएको ३७औं वार्षिक साधारणसभाका वक्ताहरूले कृषिमा नयाँ प्रविधिको विकास गराउनेसँगै व्यावसायिक कृषि विकासका विविध कार्यक्रमका लागि सम्बन्धित निकायले यथेष्ट बजेट विनियोजन गर्नैपर्ने पनि बताए।
साधारणसभाको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सघीय सांसद प्रेम सुवालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। कृषिप्रधान देशमा चामल नै भारतमा निर्भर हुनुपर्नु गम्भीर चिन्ताको विषय भएको उनले बताए। सुवालले कमसेकम खाद्यान्नमा भए पनि देश आत्मनिर्भर हुनुपर्ने खाँचो औंल्याए। ‘भारतले दाल चामल पठाएन भने के हामी ढुंगा खाएर बस्ने ?’, उनले प्रश्न गरे।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबञ्जाले कृषि विकासविना आर्थिक विकास सम्भव नहुने बताइन्। यहीकारण कृषिलाई विशेष प्राथमिकता दिनुपर्ने खाँंचो उनले औंल्याइन्। उनले जिल्लाका चारवटै नगरपालिकाले कृषि भूमि जोगाउनेतर्फ विशेष कदम चाल्नुपर्ने पनि बताइन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद ताम्राकारलगायतले मुलुकको आर्थिक उन्नतिका लागि कृषिको योगदान महत्वपूर्ण रहेको चर्चा गरे।
उत्कृष्ट निर्यातकर्ता सम्मानित
कार्यक्रममा उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरियो। भक्तपुर उद्योग वाणिज्य संघमार्फत सर्टिफिकेट अफ ओरिजिन जारी गरी निर्यात गर्नेमध्येबाट छनोट (भारततर्फ) का श्री रिजन एन्ड श्रीजन पस्मिना प्रथम, श्री सिद्धि गणेश तरकारी तथा प्रशोधन दोस्रो भएका थिए। साथै तेस्रो मुलुकतर्फ श्री प्रधानांग एपेरियल्स इन्डस्ट्रिज प्रालि प्रथम, श्री नेपाल ह्यान्ड निट दोस्रो, श्री हिमालयन बायो ट्रेड प्रालि तेस्रोलाई पनि सम्मान गरिएको थियो।
साथै कला एवं संस्कृतिको विकासमा योगदान गर्ने व्यक्ति एवं संघसंस्थालाई सहयोग गर्न सदस्य विनोदचरण रायबाट स्थापना भएको कला संस्कृति विकास कोषबाट यस वर्ष भक्तपुर नगरपालिका– १ को भार्वाचोस्थित गणेश दाफा भजन, दाफा भजनका नाइके तथा प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो। साथसाथै खेलकुद क्षेत्र विकासका लागि अध्यक्ष रोशनीमैयाँ धौबन्जाबाट स्थापना भएको खेलकुद विकास कोषबाट यस वर्ष पलेसा गोवर्धन, पारा तेक्वान्दो, सनम मूलगुठी, शारीरिक सुगठनलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा बुलेटिन पनि विमोचन गरिएको थियो।
छात्रवृत्ति वितरण
भक्तपुर उद्योग वाणिज्य संघको ३७औं वार्षिक साधारणसभामा उद्योगी व्यवसायीद्वारा स्थापित विभिन्न छात्रवृत्ति वितरण गरिएको छ। कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न पूर्वअध्यक्ष एवं सल्लाहकार युवक राजभण्डारीबाट स्थापना भएको जनकदेवी राजभण्डारी छात्रवृत्ति कोषबाट यस वर्ष शान्ति निकेतन माविमा अध्ययनरत विनिता माझी कक्षा ६, अञ्जली तामाङ कक्षा ७, सञ्जिता चौधरी कक्षा ८, भीम आदर्श आधारभूत विद्यालयका रेणु यादव कक्षा २, इशाक लामा कक्षा ४, सुशीला कार्की कक्षा ६ लाई छात्रवृत्ति वितरण गरियो।
साथै शिक्षा क्षेत्रमा गरिब तथा जेहेनदार विद्यार्थीका लागि विकुनदेवी सुकुपायोबाट स्थापना भएको शिवभक्त सुकुपायोको स्मृतिमा शिक्षा कोषबाट यस वर्ष गणेश माध्यमिक विद्यालयका आकाश वैद्य कक्षा ९, सृष्टिका प्रजापति कक्षा १, सरस्वती मावि सूर्यविनायक नगरपालिका– ९ की सुजाता तामाङ कक्षा ९, आकांक्षा तामाङ कक्षा १, श्री पद्म माविका यशु सुवाल कक्षा ८, हिना राज कक्षा ७ लाई पनि छात्रवृत्ति वितरण गरियो।
प्रकाशित: २५ पुस २०८१ १०:५७ बिहीबार