दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान (विशेष किसिमको झन्डा) पदयात्रा सुरु गरिएको छ । वीरतापूर्ण इतिहासपछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमाबाट इलाम सदरमुकामसम्म पदयात्रा थालिएको हो ।
नेपाल एकीकरणताका पूूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न करिब दुई सय जनाले पदयात्रा थालेका हुन् । बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु गरिएको ४१.१ किलोमिटरको पदयात्रा शुक्रबार इलाम सदरमुकाम आइपुग्ने छ । नेपाली फौजको तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर नागरीगढी (अहिले भारत)मा गाडेका निसान सुगौली सन्धीपछि फर्काएर अहिलेको इलाम सदरमुकाम ल्याइएको थियो । त्यहाँबाट करफोकको पूर्णेडाँडा–नामसालिङको हात्तीटार हुँदै अहिलेको सदरमुकामम्म ल्याइएको इतिहास छ ।
त्यसैअनुसार, मेचीबजारमा बिहान सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई, इलाम नगरका मेयर केदार थापा, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेलगायतले संयुक्त रूपमा पदयात्रा शुभारम्भ गरेका छन् । त्यस अवसरमा यी तीनै पालिकाका प्रमुख, उपप्रमुख, सिडिओ कल्पना श्रेष्ठ, नेपाली सेनाको रणशार्दूल गणका गणपति प्रल्हाद घले, जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाललगायत सहभागी भएका छन् ।
श्रीनाथ पल्टनले त्यसबेला प्रयोग गरेकै कालो पोसाकका नेपाली सैनिक सांकेतिक रूपमा निसान, खुँडा, ढाल, तरबारलगायत बोकेर पदयात्रा गर्दैछन् । नौमती बाजा र विभिन्न भाँकीसमेत छन् । पदयात्रीलाई स्वागत गर्न स्थानीयले ठाउँ–ठाउँमा घडा, कलशलगायत राखेका छन् । निसान पदमार्गले इलाममा मुख्य बसोबास रहेको आदिवासी लोपोन्मुख लेप्चा र लिम्बू जातिको पुरानो थातथलोको इतिहास झल्काउने, नेपालको पुराताŒिवक सम्पदाबारे नयाँ पिँढीलाई जानकारी दिने इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् ।
बुधबार साँझ यो पदयात्रा करफोकको पूर्णेडाँडा आइपुगेको छ । बिहीबार पूूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजकमध्ये सूर्याेदय नगरका मेयर राईले बताए । उद्घाटनपछि पुनः सुरु भएर पदयात्री निसान राखिएको अर्को स्थान माइजोगमाईको नामासालिङस्थित हात्तीटार आउनेछन् । २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम बजारस्थित माइस्थानमा आउनेछ । र, औपचारिक समापन गरिने छ ।
इलाम नगरपालिका, सूूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् । नेपाल एकीकरण गर्दैजाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दुु (मेची नदी) कायम भएको इतिहास छ । नेपाल एकीकरण गर्दैजाँदा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाढेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।
इलाम नगरका मेयर थापाले पदयात्राका माध्यमबाट पर्यटक आकर्षित गर्न यो कार्यक्रम तय गरिएको बताए । माइजोगमाई गाउँपालिका उपाध्यक्ष थेबेले ऐतिहासिक पदमार्गमा पर्यटक आकर्षित हुनसके पर्यटनको नयाँ गन्तव्य विकास हुने भएकाले नयाँ गन्तव्य विकास गर्न लागिएको जनाए ।
नागरीगढीबाट इलाम बजार ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नेपाली सेनाले यहाँको निसान र तोप काठमाडौं स्थानान्तरण गरेको थियो । तर, इलामबासी, पर्यटनकर्मी र इतिहासकारलगायतको निरन्तर दबाबपछि २०७४ सालमा निसान र २०७९ सालमा तोप माइस्थान मन्दिरमै ल्याएर पुनस्र्थापित गरिएको छ ।
ऐतिहासिक निसान ल्याएको र जिल्ला सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा २०७५ सालमा इलाम नगरले महोत्सवसमेत आयोजना गरेको थियो । नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो ।
इलामको यही इतिहासबारे सबैलाई जानकारी गराउन जरुरी रहेको उनी बताउँछन् । ‘यो विषय नेपालको इतिहासमा समेत लेखिएको छैन,’ इतिहासकार वैद्य भन्छन्, ‘इलाम नेपालमा गाभिनु पृथ्वीनारायण शाहको राज्य एकीकरणको सुरुआत थियो । सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम सारेर करफोक ल्याएका हुन् । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा यो पल्टन इलामको माइस्थान ल्याइएको थियो ।’ निसान रहेको माइस्थान मन्दिर १८८० स्थापना भएको अनुमान छ ।
प्रकाशित: २४ पुस २०८१ १८:०४ बुधबार