८ वैशाख २०८१ शनिबार
समाज

३५० वर्ष पुरानो गढी उत्खननको तयारी

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ३५० वर्ष पुरानो गढी उत्खननका लागि पहल थालेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व बिभागलाई आग्रह गरेको छ।

ऐतिहासिक गढीको संरक्षण र संवर्धन गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि गढीको प्रारम्भिक सर्वेक्षण, उत्खनन एवं  पुनः निर्माणका लागि विशेषज्ञसहित बजेट व्यवस्थाका लागि बिभाग समक्ष प्रस्ताव गरिएको मेयर इवन राईले बताए। हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै ऐतिहासिक महत्वलाई उजागर गर्नका लागि उत्खननको तयारी थालिएको हो।

अग्लो डाँडामा रहेकाले हलेसी गुफा, तुवाचुङ–जायजुम, हिमालय श्रृंखला, तराईका समथर भु–भाग समेत दृश्यावलोकन गर्न सकिने रमणीय ठाउँ भएकाले हलेसी गढीमा पर्यटन संवर्धनको प्रचुर सम्भावना रहेको स्थानीय बताउँछन्। हलेसी गढीले गोरखा दरबार, पाटन दरबार, किर्तीपुर दरबारकोजस्तै ऐतिहासिक महत्व बोकेको भए पनि प्रचार–प्रसारमा ओझेलमा परेकाले उत्खननका लागि नगरपालिकामा प्रस्ताव राखिएको बुद्धिजिबी भूपेन्द्रकुमार राईले बताए।

‘गढीको ऐतिहासिक महत्वलाई उजार गर्नु र प्रकाशमा ल्याउनु नै उत्खननको प्रमुख लक्ष्य हो,’ राईले भने, ‘यसबाट स्थानीय इतिहासको संरक्षणमा टेवा पुग्छ। साथै, पर्यटन प्रवद्र्धन गरेर स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने छ।’ ऐतिहासिक गढीको अस्तित्व नै मेटिनेगरी नजिकैबाट मनपर्दो तरिकाले सडक खन्न थालिएको केही समयपछि गढी उत्खननका लागि पहल थालिएको हो।

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक अन्तर्गत दुर्छिमको छापडाँडा भन्दा केही माथि रहेको हलेसी गढीमा राजा र सेनापती बस्ने छुट्टाछुट्टै गढीको जग अहिले पनि यथावत छ। सैनिक परेड खेल्ने मैदान, गढी वरिपरी हिँड्ने रिङ रोड, सुरुङ लगायतका संरचना अहिले पनि देख्न सकिन्छ। तर, ती संरचनाको अस्तित्व क्रमशः मेटिदै गएकाले नगर र स्थानीयले गढीको संरक्षणमा चासो देखाएका हुन्।

हालसम्म ओझेलमा रहेको गढीमा नेपाल एकीकरणकाक्रममा पृथ्बीनारायण शाहले आफ्नो सेनालाई तलव वितरण गरेको इतिहास छ। प्रचार–प्रसार गर्न सके नजिकै रहेको धार्मिकस्थल हलेसी आउने पर्यटक तथा दर्शनार्थीलाई ऐतिहासिक गढीमा भ्रमण गराउन सकिने सम्भावना रहेको नगरपालिकाले जनाको छ। किराती राजा होलैसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा बिक्रम सम्बत १८३० भदौमा पृथ्बीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको मुन्धुम अध्यता भोगीराज चामलीङ बताउँछन्।

नगरपालिकाभित्र रहेका च्यास्मीगढी र खाम्तेल गढीमध्ये नगरपालिकाले हलेसी गढीको उत्खननको प्रस्ताव गच चैत्र १५ गते पुरातत्व विभागमा पु¥याएको हो। पछिल्लो समय ऐतिहासिक हलेसी गढी नजिकैबाट मनपर्दो तरिकाले सडक खन्दा गढीको संरचनालाई अशर पुगेको स्थानीयको गुनासो छ। कांग्रेस नेता नरेश श्रेष्ठले केही समयअघि गढी तेर्सोबाट सडक खनेपछि ऐतिहासिक गढीको संरचनालाई प्रत्यक्ष अशर पुगेको हो। स्थानीयले विरोध जनाएपछि श्रेष्ठले कमजोरी स्वीकार गर्दै गढीको संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको होलेसुङ समुहका एक सदस्यले बताए।

प्रकाशित: २ वैशाख २०७५ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App