राम्रो आम्दानी सहित बिक्रीका लागि कुनै झन्झट नभए पछि कपिलवस्तु भैँसी पालनको हब बन्दै गएको छ । भैँसी दूधको जिल्लामा उच्च माग भए पछि केही बर्ष यता कपिलवस्तुमा व्यवसायिक रुपमा भैँसी पालन गर्नेको संख्या निरन्तर वृद्धि भइरहेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अनुसार जिल्ला भैँसीको हब बन्दै गएको छ । केन्द्र अनुसार जिल्ला बिजयनगर, बाणगंगा, मायादेवी सुद्धोदन, कपिलवस्तु नगरपालिका लगायत १० वटै पालिका भैँसी पालनको लहर नै चलेको छ ।
भैँसीको दूधबाट राम्रो आम्दानी र बजारीकरणको कुनै समस्या नभए पछि कृषकहरूले घर घर मै भैँसी पालन थालेको केन्द्रका प्रमुख डाक्टर परबेज आलमले बताए । जिल्लामा २ सय ५० वटा भैँसी फर्म दर्ता गरेर व्यावसायिक रुपमा दूध उत्पादन गरिँदै छ । सामान्य कृषकले समेत घर घरमा भैँसी पालन गरेका छन् । भैँसीमा खासै रोगको समस्या नदेखिने, भैँसीका लागि सुहाउँदो हावापानी, उत्पादित दूध बिक्री कालागि समस्या नहुने र पाडाहरूको बिक्री सम्मते सहजै हुने भएकाले कृषकहरू अहिले भैँसी पालनमा लागेको डाक्टर आलम बताउँछन् ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकका कृषक दिपेन्द्र पौडेलले भैँसी पालनबाट मासिक ५० हजार बढी आम्दानी गर्दै आएका छन् । ३ बर्ष दुबई काम गरेर फर्केका उनले १२ बर्ष अघि २ वटा भैँसी सहित फर्म खोल्दा साढे ६ लाख लगानी गरेका थिए । १४ वटा भैसीबाट दैनिक ५५ लिटर दूध उत्पादन गरी राम्रो आम्दानी गर्दै आएको उनले बताए । एक हेक्टरमा घाँस लगाएर भैँसी पालन गरेका उनले दान भन्दा घाँसबाट व्यावसायिक भैँसी पालन गरे राम्रो आम्दानी हुने उनी बताउँछन् । ‘विदेश जानु भन्दा भैँसी पालन गरेर राम्रो आम्दानी गर्न सकिन्छ ’ उनले भने ।
अहिले जिल्लामा व्यावसायिक रुपमा भैँसी पालन गर्नेको संख्या बढेको उनले बताए । बिजयनगर गाउँपालिका वडा नम्बर ७ का छांगुर लोनियाले १५ वटा भैँसी पालेर राम्रो आम्दानी गर्नै आएका छन् । उनले बिजय नगरमा आफू जस्तै सयौँ कृषकहरूले भैँसी पालन गरेर मनग्य आम्दानी गदै आएका छन् । वार्षिक ६ लाख बढी दूध बचेर आम्दानी गर्दै आएको उनले बताए । भैँसी पालनले आफ्नो परिवार रामैसँग चलेको उनले बताए । बिजय नगरमा प्रदेश सरकारले भैँसीको श्रोत केन्द्र समेत स्थापन कालागि तयारी गरेको छ । बिजयनगरका कृषकहरूले उत्पादन गरेका दूधबाट खुवा बनाएर समेत बिक्री गर्दै आएको छन् । बिजयनगर गाउँपालिका प्रमुख गोपाल बहादुर थापाले बिजयनगरमा भैँसी पालन प्रति कृषकहरूको आकर्षण बढेको बताए । ‘राम्रो आम्दानी हुने भए पछि बिजयगरमा भैँसी पालनको लहर नै चलेको छ ’ उनले भने । उनले आफ्नो पालिकाले समेत कृत्रिम गर्भधारण सहित उपचार लगायतको सेवा दिँदै आएका बताए ।
जिल्लामा बुद्धभुमी नगरपालिका वडा नम्बर ९ ईमिलियामा प्रदेश कै सबै भन्दा ठुलो ग्लोबल डेरी उद्योग समेत सञ्चालित छ । यस्तै बागंगा दुग्ध सहकारी र साना किसान सहकारी लगायतले समेत कृषकहरूको दूध घर घर मै गएर किन्ने गरेको छ । जसले गर्दा कृषकहरूलाई बजारीकरणको कुनै समस्या छैन । विज्ञ केन्द्र अनुसार भैँसी पालनको संख्या बढकोले जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा वार्षिक ५९ हजार ४८५ मेट दूध उत्पादन हुन्छ । जस मध्ये भैसीबाट २९ हजार ६८० मेट दूध उत्पादन हुने गरेको छ ।
जिल्लाबाट दैनिक ७ हजार लिटर बढी दूध जिल्ला बाहिर निकासी हुने गरेको छ । विज्ञ केन्द्रले भैँसी पालन प्रबद्र्धनका लागि सहजीकरण कार्यक्रम, डोर टु डोर पशु सेवा शिविर, निःशुल्क कृत्रिम गर्भधारण नश्ल सुधार कार्यक्रमले समेत भैँसी पालनको संख्या बढेको डाक्टर आलम बताउँछन् । जिल्लामा पशु हाट बजार समेत रहेकोले थारो भएका भैँसी र पाडाहरूलाई समेत सहजै बिक्री गर्न सकिने उनले बताए ।
प्रकाशित: २३ पुस २०८१ १७:५२ मंगलबार