नेपाल एयरलाइन्स (नेपालवायु सेवा निगम) मा निजी क्षेत्रको लगानी भिœयाउन सांसद देवीप्रकाश भट्टचनले सुझाव दिएका छन्। संसदीय समितिको बैठकमा मंगलबार भट्टचनले सम्भव भएसम्म निजीक्षेत्रलाई सहभागी गराउन आग्रह गरे। अहिलेकै अवस्थामा ऋणको भार बोकेर एयरलाइन्स सञ्चालन गर्न कठिन रहेको बताए।
निजीक्षेत्रका बुद्ध एयर, यती एयर लगायतका कम्पनीले राम्रो प्रगति गरिरहँदा नेपाल एयरलाइन्सको अवस्था दयनीय भएको बेला सांसद भट्टचनले यस्तो सुझाव दिएका हुन्। नेपाल एयरलाइन्सले महँगो ब्याजमा ऋण प्रयोग गरेकोमा उनले चिन्ता व्यक्त गरे। ‘वाणिज्य बैंकहरूले सरदर साढे ८ प्रतिशत ब्याजमा कर्जा लगानी गरिरहेका छन्,’ भट्टचनले भने, ‘एयरलाइन्सले अहिले साढे १० प्रतिशत ब्याजमा ऋण लिएको छ।’
नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतबाट करिब ५२ अर्ब रूपैयाँ ऋण लिएको छ। पर्यटनमन्त्रीले अर्थमन्त्रीलाई आग्रह गरेर ब्याज दर घटाउन पहल गर्नुपर्ने उनले सुझाए। पछिल्लो पटक निजी क्षेत्रको कम्पनी यती एयरलाइन्समा इन्स्योरेन्स कम्पनीहरूले एक अर्ब ८० करोड रूपैयाँ लगानी गरेको स्मरण गराउँदै नेपाल एयरलाइन्समा पनि विमा कम्पनीको लगानी ल्याउन सकिने बताए।
अहिलेको अवस्थामा नेपाल एयरलाइन्समा विदेशी लगानीकर्ता लगानी गर्न आउने अवस्था नरहेको सांसद भट्टचनले दाबी गरे। ‘३० करोड पुँजीभएको कम्पनीको सय अर्ब सम्पत्ति र ५२ अर्ब ऋण छ,’ उनले भने, ‘यस्तो अवस्थामा विदेशी कम्पनी लगानी गर्न आउँदैनन्।’ स्वदेशी लगानीकर्ताले लगानी गर्न सक्ने भएकाले ऋणलाई इक्विटीमा कन्भर्ट गर्न उनले सुझाव दिए ।
खरिद प्रक्रिया झन्झटपूर्ण भए एयरक्राफ्ट सञ्चालनमा कठिनाइ हुने बताए। ‘निजीकम्पनीले एक हप्तामै पार्टपुर्जा ल्याएर एयरक्राफ्ट सञ्चालन गरिरहेका छन्,’ सांसद भट्टचनले भने, ‘सरकारी कम्पनीमा सार्वजनिक खरिद ऐन अनुसार ४५ दिन बढी लाग्ने व्यवस्था छ। यसलाई तुरुन्त संशोधन गर्नुपर्छ।’
प्रकाशित: २४ पुस २०८१ १७:५९ बुधबार