४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

मिक्वाखोलाको सार्वजनिक सुनुवाइ : बाँदर नियन्त्रणदेखि माटो परीक्षणसम्मका माग

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका नागरिकले बाँदर नियन्त्रणदेखि माटो सुहाउँदो खेती प्रणाली सुरु गर्न माग गरेका छन्। नागरिकको गुनासो, राय तथा सुझाव ग्रहण गर्न गाउँपालिकाले वडागत रूपमा आयोजना गरेको कार्यक्रममा नागरिकहरूले वर्षायामको अवधिमा पूर्वाधारका कामहरू नगर्न तथा वडा तहका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलहरूलाई समेत अनुगमनमा संलग्न गराउन माग गरेका छन्।

मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका काजीमान लिम्बूले खेती बाँझो राखे कारबाही गर्ने विषय पनि यदाकदा आउने भएकाले खेती किन बाँझो राखियो भनेर बुझिदिन स्थानीय सरकारमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए। ‘बाली लगायो भने बाँदरले खाएर हैरान पार्छ, अनि खेत बाँझो हुने नै भयो नी!’ लिम्बूले भने।

लिवाङकै फिपराज लिम्बूले समय छउञ्जेल पूर्वाधारका काममा चासो नदिने अनि वर्षायाम सुरु भएपछि सडक खोतल्ने थाल्ने प्रवृत्तिले पहिरोको समस्या झन् विकराल हुने भएकोले यसो हुन नदिन पालिका सचेत हुनुपर्ने बताए। वर्षा लागेपछि सडक निर्माण गर्न थालिए पालिकाले नियन्त्रण गर्नुपर्ने नभए गाउँलेले आफैँ त्यसका लागि अग्रसर हुने उनको चेतावनी थियो।

लिवाङका पूर्व वडाध्यक्ष समेत रहेका दीपेन्द्र लिवाङले वडामा सञ्चालित प्रत्येक योजनामा वडापालिकाका सबै जनप्रतिनिधि र सकेसम्म क्रियाशील राजनीतिक दल समेतको अनुगमन संयन्त्र बनाउँदा अनुगमन प्रभावकारी हुने सुझाए। मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका श्रीजंग थलङले माटो परीक्षण नगरी खेती लगाउँदा उत्पादनमा कटौती हुने तर्फ पालिकाको ध्यानाकर्षण गराए। वडा नं २ का गणेशप्रसाद थापाले योजना सञ्चालन गर्नुअघि सम्बन्धित योजनाको रकम र लाभान्वित क्षेत्रबारे वडा र पालिकाले नागरिकलाई जानकारी गराउनुपर्ने सुझाव दिए। उनले योजनाको पारदर्शीता कायम हुनुपर्नेमा जोड दिँदै जनप्रतिनिधिले गर्छु भनेको काममा टाउको हल्लाएर हिँड्ने मात्र होइन, टाउको हल्लाएपछि पूरा पनि गर्नुपर्ने बताए।

वडा नं २ कै हरिप्रसाद बस्नेतले सडकको भाडादर समयानुकूल बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए। सार्वजनिक सेवा प्रवाहबारे पालिकाभरिका नागरिकको राय बुझ्न तथा सेवा प्रवाहबारे जनताको गुनासो ग्रहण गर्न मिक्वाखोला गाउँपालिकाले पालिकाका ५ वटै वडामा पुगेर सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो। मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमले पालिका र मातहतका निकायमार्फत प्रदान भएको सेवाबारे जनतामा भावना बुझ्न र समस्या भए त्यसलाई सुधारेर अघि बढ्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना भएको बताए।

‘गल्ती भए सच्याउने, भूल भए क्षमा दिने र अपराध भए दण्डित हुने प्रणालीको विकासका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम अघि सारिएको उनको भनाइ थियो। पालिका अध्यक्ष भक्तबहादुर कार्कीले नागरिकहरूले सेवा प्रवाहमा झेलिरहेको समस्या, भोगिरहेको कठिनाइ र सेवा प्रवाह थप चुस्त बनाउन नागरिककै सल्लाह ग्रहणका लागि वडागत सार्वजनिक सुनुवाइ सञ्चालन गरिएको जानकारी दिए।

पालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले नागरिकहरूका साझा समस्या के हुन् र पालिका तथा मातहतका निकायबाट प्रदान भएको वस्तु तथा सेवा नागरिकको घरदैलोमा पुग्यो कि भनेर जनताकै माझबाट सुन्न चाहने र समस्या देखिए आगामी दिनमा सुधारेर सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउने अभिलाषाका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

पालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार पालिकाको वडा नं ५ पापुङबाट सुरु भएको सार्वजनिक सुनुवाइ, वडा नं ४ साँवा, वडा नं ३ लिवाङ, वडा नं २ खोक्लिङ र वडा नं १ खोक्लिङमा आएर सकिएको छ। पालिकाले सार्वजनिक सुनुवाइलाई कार्यविधि अनुसार नियमित र निरन्तर गर्नेगरी योजना बनाएको बताएको छ।

प्रकाशित: २२ पुस २०८१ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App