१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हरिनगरकी सफिना खातुनका चौध सन्तान, श्रीमानमा सन्तानको चाहाना कायमै

दुहवीमा भने परिवर्तन हुँदै

दुहवी वडा नं. १२ को मुस्लिम बस्तीका महिलाहरूको भेला । तस्बिर: नागरिक

सुनसरी हरिनगर वडा नं. ७ सिकारी टोलकी ४० वर्षीया सफिना खातुनले अघिल्लो वर्ष १४ औं सन्तानको रुपमा छोरा जन्माइन् । उनलाई अब भने सन्तान नजन्माउनका लागि महिला स्वास्थ्यकर्मीले सुल्झाएका छन् । सफियालाई महिला स्वास्थ्यकर्मीले सम्झाउँदा श्रीमान्ले नमानेको बताएपछि उनलाई पनि डाकेर सम्झाएको स्वास्थ्य चौकी प्रमुख रानी खातुनले बताइन् ।

‘हामीले बढी सन्तान जन्माउने महिलालाई त सम्झाउने गरेकै छौ, आवश्यक पर्दा पुरुषलाई पनि डाकेर धेरै सन्तान नजन्माउने सुझाव दिने गरेका छौ,’ उनले भनिन् । उनका अनुसार स्वास्थ्य चौकीबाट बेला बेलामा गाउँमा सचेतना अभियान कार्यक्रम नै सञ्चालन गर्ने गरिएको छ । यद्यपि, सोचे अनुसार सुधार आउन भने सकेको छैन ।

हरिनगर वडा नं. ७ कै २८ वर्षीय रुक्सना खातुनले पनि भर्खरै आठौँ सन्तान जन्माएकी छन् । यसै गरी, वडा नं. ६ की मसिना खातुनले सातौँ सन्तानको जन्म दिइन् । वडा नं. ७ की २८ वर्षे अनसरी खातुनले पनि सातौँ सन्तानको जन्म दिएकी छन् । वडा नं. ५ की २८ वर्षे साज्य खातुनले आठौँ सन्तान जन्माएकी छन् ।

यसरी धेरै सन्तान जन्माउने सफिना, रुक्सना, मसिना, अनसरी र साज्य त उदाहरणका पात्र मात्र हुन् । मुस्लिम समुदायको बाहुल्यता रहेको हरिनगर क्षेत्रमा बग्रेल्ती सन्तान जन्माउने क्रम रोकिएको छैन । जसले गर्दा यस स्थानका मुस्लिम महिलालाई परिवार नियोजनको साधन प्रयोग गर्न र कम सन्तान जन्माउनका लागि सचेतना फैलाउने गरिएको छ ।

परिवर्तन एक्कासि नभएर बिस्तारै हुने अनुभव घुस्की स्वास्थ्य चौकीकी सिनियर अनमी अञ्जुकुमारी साह सुनाउँछिन् । ‘पहिला पहिला त झन सानै उमेरमा विवाह हुन्थ्यो, महिलालाई सन्तान जन्माउने मेसिन जतिकै ठानिन्थ्यो,’ उनले भनिन, ‘स्वास्थ्य चेकजाँच पनि कमै हुने गर्थ्यो । अचेल त बच्चा जन्माउन स्वास्थ्य केन्द्रमै जाने गरेका छन् ।’ 

दुहवीमा भने परिवर्तन हुँदै

केही वर्ष अघिसम्म कोही नव आगन्तुक आयो भने दुहवी वडा नं. १२ मुस्लिम बस्तीका महिला लाजले मुन्टो बटारथे । यहाँका महिलालाई परिवर्तन ल्याउनका लागि सेभ द अर्थ सुनसरीले तीन वर्षअघि आमा समूह गठन गरेर सचेतना अभियान सञ्चालन ग¥यो । यति बेला यहाँका महिलामा आमूल परिवर्तन आएको छ ।

झन्डै ५० घर परिवार रहेको यस मुस्लिम बस्तीमा अचेल सरदर २-३ मात्र सन्तान जन्माउने गरेका छन् । अहिले गाउँ घरमा गएर महिला स्वास्थ्य स्वयम् सेविकाले पनि धेरै सन्तान नजन्माउने सन्देश दिने गरेका छन् । ‘मेरै तीन वटा नानी छन्, धेरै भएजस्तो लागेको छ,’ दुहवी वडा नं. १२ की ३५ वर्षीया रजिना खातुनले भनिन, ‘पहिला पहिला त कम्तीमा पाँच–छ जना सन्तान हुने गर्थे ।’ उनका अनुसार अब त धेरै सन्तान जन्माउँदा गाउँमा राम्रो मान्ने चलन छैन । 

सोही ठाउँकी अस्मिता खातुन २३ वर्ष पुगिन् । उनको अहिले गर्भ  छ । १६ वर्षमा विवाह गरेकी उनले दोस्रो सन्तान छोराको आसमा छन् । ‘अब दोस्रो सन्तान छोरा भए ठिकै नत्र फेरि छोराको आसमा तेस्रो सन्तान कुनै पनि हालतमा जन्माउँदिन,’ उनले भनिन् ।

दुहवी वडा नं. १२ को मुस्लिम बस्तीमा परिवार नियोजन गर्ने र परिवार नियोजनको साधन प्रयोग गर्ने क्रम पनि बढेको छ । केही वर्ष अघिसम्म त मुस्लिम बस्तीमा परिवार नियोजन गर्नुलाई पाप सोच्ने गर्छन्। तर, अहिले बद्लिएको छ । साथै, परिवार नियोजनको साधन प्रयोग गर्ने क्रम पनि बढेको स्थानीय सुखनी खातुनले बताइन् । ‘मैले पनि त परिवार नियोजन गरेको छु,’ उनले भनिन्, ‘अचेल पहिला जस्तो छैन ।’ दुहवी वडा नं. १२ को मुस्लिम वस्तीम सानै उमेरमा विवाह गरी दिने चलन पनि अचेल रोकिएको छ ।

परम्परागत मान्यतालाई तोडेर मुस्लिम परिवर्तनको अभियानमा लागेका छन् । यसरी अभियानमा लाग्नका लागि प्रेरणा प्रदान गर्ने संस्था सेभ द अर्थ सुनसरी रहेको स्थानीय मुस्लिम महिला बताउँछन् । सेभ द अर्थ संस्थाकै अगुवाइमा साल्पादेवी आमा समूह गठन गरेर  निरन्तर अभियान चलिरहेको छ  । आमा समूहको नियमित बैठक बस्दा महिलाको स्वास्थ्य अवस्थासँगै परिवर्तनका निम्ति छलफल हुने गरेको  छ ।  ‘अहिले हरेक सचेत हुन थाले, त्यसमा अब हामी महिला नै सङ्गठित भएर पुरुषहरूले कमजोरी गरेमा उनीहरुलाई पनि सम्झाउन थालेकाले गर्दा परिवर्तन हुन थालेको हो,’ मुस्लिम समुदायकी नजराना खातुनले भनिन् ।

सेभ द अर्थ संस्था रामधुनी सुनसरीले स्थानीय तहसँगको सहकार्यमा विश्वास परियोजना अन्तर्गत सुनसरीको आठ वटा पालिकाहरू बर्जु, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह, गढी, दुहबी नगरपालिका र इनरुवा नगरपालिकामा स्वास्थ्य सेक्टरमा काम गर्दै आएको अध्यक्ष पुष्प भट्टराईले बताए । 

प्रकाशित: १५ पुस २०८१ १७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App