१ माघ २०८१ मंगलबार
image/svg+xml
समाज

शिक्षक सरुवाको विषयले विद्यार्थी आक्रोशित, नगरपालिकामा तोडफोड, प्रहरी घाइते

रौतहटको गरुडा नगरपालिका–४ स्थित गरुडा माध्यमिक विद्यालयका विद्यार्थीहरू शिक्षक सरुवाको विषयलाई लिएर आक्रोशित बनेका छन्। विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तोडफोड गर्नुका साथै नगर प्रमुख चढ्ने गाडीमा पनि क्षति पुर्‍याएका छन्।

नगरपालिकाको कार्यालय अगाडि रोकि राखिएको ना.१ झ. १६७३ नम्बरको पिकअप गाडीमा विद्यार्थीहरूले ढुंगामुढा प्रहार गरी तोडफोड गरेका हुन्। आक्रोशित विद्यार्थीहरूले कार्यालय भवनमा समेत ढुंगा हानेका छन्। यस क्रममा नगर प्रहरी रामनारायण साह घाइते भए। घाइते साहलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।

शिक्षकको सरुवाले आक्रोशीत विद्यार्थी

गरुडा माध्यमिक विद्यालयका निम्न माध्यमिक तहमा कार्यरत शिक्षक शिवशंकर झा गत भदौमा वडा नम्बर-५ स्थित महम्मदपुर माविमा सरुवा भएका थिए। तर, सरुवा भएको विद्यालयमा नगई उनी पहिलेको विद्यालयमै अध्यापन गर्दै आएका थिए।

नगर प्रमुख कन्थमनिप्रसाद कलवारले शिक्षक झा सरुवा भए पनि निर्धारित विद्यालयमा नगई विद्यार्थीहरूलाई उचालेर सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको आरोप लगाए। उनले विद्यालयका प्रधानाध्यापक प्रभु पटेलले पनि आन्दोलनमा विद्यार्थीसँग हातेमालो गरेको गम्भीर आरोप लगाएका छन्।

प्रदर्शनका क्रममा विद्यालयका प्रधानाध्यापक प्रभु पटेलले नगरपालिकामा पुगेर स्थिति साम्य पारेका थिए।

नगर प्रमुख कलवारले तोडफोडबाट कार्यालय भवन, सवारी साधन, र अन्य सरकारी सम्पत्तिमा भएको क्षति तथा नगर प्रहरीमाथिको हमलाको छानबिन गरी दोषीहरूलाई कारबाही र क्षतिपूर्ति असुल गर्न सम्बन्धित निकायमा पत्राचार गरिने जानकारी गराए।

गत मंसिर २ गते पनि शिक्षक सरुवाको विषयलाई लिएर नगर प्रमुख कलवारको घरमा केही व्यक्तिहरूले अभद्र व्यवहार गर्ने प्रयास गरेका थिए।

प्रकाशित: ११ पुस २०८१ १८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App