कपिलवस्तुका इसाईहरूले आफ्नो प्रमुख चाड क्रिसमस बुधबार धुमधामसँग मनाएका छन्। जिसस क्राइस्ट (यशुख्रिस्ट) को जन्मोत्सवका अवसरमा मनाइने सो चाड इसाई धर्मावलम्बीहरूले गिरजाघरमा एकआपसमा शुभकामना साटासाट गरेका हुन्। यशुको सम्झना गर्दै जिल्लामा रहेका दुई दर्जन बढी गिर्जाघरमा उनीहरूले सामूहिक प्रार्थना, मनोरञ्जन र भोजन गर्दै सो पर्व मनाएका हुन्।
एक महिनादेखि क्यारोल खेल्दै आएका इसाईहरूले क्रिसमसका अवसरमा आपसमा शुभकामना र उपहार दिँदै हर्षोल्लासका साथ पर्व मनाएका छन्। गिर्जा घरहरूमा गरिएका विशेष कार्यक्रममा बाइबलको पाठ र यशुका विषयमा चर्चा गरिएको थियो। कपिलवस्तुको तौलिहवा, लोहोरौला, चार नम्बर, सगरहवा, कोपवा, चन्द्रौटा, कृष्णनगरलगायतका गिर्जाघरमा दिनभर सामुहिक प्रार्थना, नाचगान र भोजभतेर गरिएको थियो।
मानव जातिको मुक्तिदाताका रूपमा रहेका यशुख्रिस्टको जन्म दिनमा आफूहरूका लागि विशेष हुने तौलिहवास्थित बेथेल चर्चका अगुवा डेभिड चौधरीले बताए। ‘मानव जातिको रक्षाका लागि परमेश्वरले एक मात्र पुत्र संसारमा पठाउनुभएको थियो, जसले उहाँमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ।’
चौधरीले क्रिसमसको महत्वबारे प्रकाश पारे। तत्कालीन समयमा अन्याय, अत्याचार, विभेदमा परेका मानिसलाई बचाउन क्रसमा चढी आफ्नो बलिदान दिएको तौलिहवास्थित एजी अनुग्रह चर्चका पास्टर स्टेफिन थापाले बताए।
येशुकै सम्झनामा ईस्वी संवत् प्रारम्भ भएको बताइन्छ। दीन–दुःखीलाई सशक्त बनाउन येशुले महत्वपूर्ण शिक्षा दिएकाले त्यो त्याग मानव जातिकै लागि प्रेरणा बनेको थापाको भनाइ छ।
नेपालमा चार सय वर्ष अघिदेखि क्रिस्चियन धर्म आए पनि जिल्लामा २०५२ साल कपिलवस्तु नगरपालिका आनन्दबागमा पहिले आराधनालय सञ्चालन गरिएको थियो। त्यसयता क्रिस्चियन धर्मावलम्बी बढ्दै गएको पाइएको छ। आजभन्दा दुई हजार २३ वर्षअघि डिसेम्बर २५ मा येशुख्रिस्टको जन्म इजरायलको बेथलेहेममा भएको थियो।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका यशुख्रिस्टले तीन मुख्य खुसीयाली दिएको पास्चरहरू बताउँछन्। मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिस्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।
प्रकाशित: ११ पुस २०८१ ०८:५६ बिहीबार