१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

हिउँद कटाउन दाउराको जोहो गर्दै जुम्लाका महिला

चिसो बढ्दै गएपछि अहिले जुम्लाको दैनिकी मुस्किल बन्दै गएको छ। मंसिर दोस्रो सातादेखि नै तापक्रम माइनसमा झर्न थालेपछि जुम्लाबासीको जनजीवन कष्टकर बन्दै गएको हाे।

चिसो बढेसँगै केही दिनयता जुम्लामा चोक चोकमा आगो बालेर ताप्ने क्रम बढी रहेको छ। ‘एकदमै चिसो बढेको छ। २र४ दिन भयो पुस नलाग्दै चिसो बढेको महसुस भएको छ,’ जुम्लाको चन्दननाथ नगरपालिका-४ देवीप्रसाद सिम्खाडाले भने, ‘जाडो बढेसँगै जताततै पानी जम्न सुरु गरिसकेको छ।’

अहिले घरभित्र राखेको पानी जमेर बरफ बन्नुका साथै धाराको पानी पनि जम्न थालेको छ। चिसो बढ्दै गएपछि बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरिरहेका छन्।

त्यसो त जाडो कटाउनका लागि जुम्लाका स्थानीय महिलाले केही दिनबाट दाउराको जोहो गर्न थालेका छन्। उनीहरुलाई यति बेला दाउरा संकलन गर्न भ्याइनभ्याइ छ। जुम्लामा हिउँ पर्ने समय पनि नजिकिँदै छ, यहाँ पुस महिनादेखि चैतको अन्तिमसम्म हिउँ पर्ने गर्छ।

सिंजा-६ की असाडी रावत भन्छिन्, ‘दाउरा बालेर मात्र चिसोबाट बच्न सकिन्छ। यसका लागि बिहान बेलुकाको समयमा दाउराको जोहो गर्नमै जुट्ने गरेका छौँ।’ उनका अनुसार हरेक वर्ष हिउँदमा निश्चित समय तोकेर मात्र दाउरा सङ्कलनको लागि बन खुल्ला गर्ने गरिन्छ। यस अवधिमा मात्र दाउरा संकलन गर्न पाइने हुँदा जाडो प्रवाह नगरी दाउरा सङ्कलनमा जुटेको उनी बताउँछिन्।

जुम्लामा वन उपभोक्ता समितिले निश्चित समयका लागि मात्र बनमा सुकेको दाउरा संकलन गर्न दिने गर्दछ।

प्रकाशित: ९ पुस २०८१ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App