३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

एमाले सांसद पोखरेलकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी

मोरङ जिल्ला अदालतले सहकारी ठगी मुद्दामा एमाले सांसद ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । मोरङको धनपालथान गाउँपालिका–३ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा मोरङ अदालतले मङ्गलवार फरार रहेका २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, सङ्घीय संसद्को सार्वजनिक लेखा समितिका सभापति समेत रहेका सांसद पोखरेल पत्नी अञ्जला सहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।  मलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मङ्सिर २७ गते अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा प्रतिवादी बनाइएकामध्ये सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई मङ्सिर २८ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष हुन् । 

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग नजिक रहेका धनपालथान–४ घर भई विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियारले सहकारी खोलेका थिए । सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्व सञ्चालक हुन् । सहकारी सङ्कटमा परेपछि कोइरालाले २०७८ माघ ५ गतेदेखि लागू हुने गरी सहकारीबाट राजीनामा दिएकी थिइन् ।

उनले सहकारीबाट राजीनामा दिए पनि सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालो सूचीमा छिन् । कोइरालाले कालो सूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामै छ । 

सहकारीको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता कार्यालय बन्द छ । गत कात्तिक १४ गते प्रहरीले कर्सिया बजारमा रहेको सहकारी कार्यालयको ताला फुटाएर त्यहाँ रहेको सम्पूर्ण कागजात र कम्प्युटर जफत गरेर लगेको थियो । सहकारीका सम्बन्धित व्यक्तिहरू सम्पर्कमा नआउने र अनुसन्धानमा सहयोग नगरेको भन्दै ताला फोडेर कागजात जफत गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित: २ पुस २०८१ १८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App