१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

पश्चिममा वर्षकै पहिलो हिमपात: हिमालमा उडान प्रभावित, चिसोले जनजीवन अस्तव्यस्त

सोमबार बिहान हुम्लाको सिमकोटमा परेको हिमपात। तस्बिर: नागरिक

पश्चिम नेपालका हिमाली क्षेत्रमा सोमबार यस वर्षको पहिलो हिमपात भएको छ। पश्चिमी वायुको प्रभाव रहेका कारण कर्णालीको हुम्ला, डोल्पा, सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी, बैतडीलगायतका जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।

बिहानैदेखि हिमपात हुँदा यहाँको तापक्रम घटेको छ। जुम्लामा न्यूनतम तापक्रम घटेर माइनसमा झरेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः१८ मा सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ। अधिकतम तापक्रम भने १४ दशमलव ७ डिग्री सेल्सियस छ। हिमाली जिल्लामा हिमपात हुँदा दैनिक रुपमा नेपालगन्जदेखि हुने उडानसमेत प्रभावित भए। सोमबार नेपालगन्जमा पहाडी तथा हिमाली जिल्लामा कुनै पनि उडान भएनन्। मौसम प्रतिकुल नहुँदा उडान भर्न नसकिएको नेपालगन्ज विमान स्थल सुरक्षाकर्मीले जनाएका छन्।

हिमपातसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। बिहानैदेखि हिमपात हुँदा घर बाहिर निस्किनसमेत समस्या भएको हुम्लाका जनक शाहीले जानकारी दिए। यहाँका उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हल्जी, जाँङ, तिलमा एक फिट हिमपात भएको उनले बताए  ‘सिजनकै पहिलो हिमपात हो,’ उनले भने, ‘यस समयमा यहाँ बाक्लो हिमपात हुन्छ।’

यता सुदूरपश्चिमका बाजुरा, अछाम, बैतडी, डडेल्धुरा, डोटीलगायतका हिमाली तथा पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ। डोटीको बडिकेदार गाउँपालिकाको खड्यौली, अतरकाडा, बडिकेदार धामलगायत क्षेत्रमा हिमपात भएको छ। बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न ठाउँमा हिमपात भएको छ। खप्तड शिखर, नापानी, केदार धुरालगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि परिरहेको स्थानीयवासीले बताएका छन्। बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भयो। हिमाली क्षेत्र सेताम्मे देखिएका छन्।

चिसोले ज्यालादारी काम गरेर खाने वर्गलाई समस्या भएको छ। उनीहरु चिसोले गर्दा काममा निस्किन सकेका छैनन्। चिसोको समयमा कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा अत्यधिक हिउँ पर्छ।

२४ घण्टामा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जनाएको छ। बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध छ।

प्रकाशित: २४ मंसिर २०८१ १७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App