१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

काम छलेर लोकसेवा तयारी

लोकसेवा आयोगको आन्तरिक बढुवाका लागि परीक्षाको तयारी गरिरहेका सरकारी कर्मचारीहरूका कारण सेवाग्राहीहरूले सास्ती पाएका छन्। ती कर्मचारीहरूले काम नगर्दा सरकारी सेवा प्रभावित भएको छ। आयोगले गत असोजदेखि आन्तरिक बढुवा तथा खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाउने गरेको छ।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंका अनुसार आयोगले निजामती सेवाका लागि असोजको अन्तिम बुधबारदेखि चैतको अन्तिम बुधबारसम्म क्रमिक रूपमा विभिन्न पदमा आवेदन खुलाउने गर्छ। असोजको अन्तिम बुधबार उपसचिव र सहसचिव (अप्राविधिक), कात्तिकको अन्तिम बुधबार उपसचिव (प्राविधिक), मंसिरको अन्तिम बुधबार शाखा अधिकृृत (अप्राविधिक) तथा पुसको अन्तिम बुधबार नायब सुब्बा पदका लागि आवेदन खुलाउनुपर्ने व्यवस्था कानुनमै तोकिएको छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म चल्छ।

आयोगले यही बुधबार तीन सयदेखि चार सयसम्मको संख्यामा शाखा अधिकृत पदका लागि आवेदन खुलाउने तयारी गरेको छ। चाँडै बढुवा हुने आशामा कर्मचारीहरू लोकसेवा आयोगको आन्तरिक परीक्षामा व्यस्त हुने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुली स्वीकार गर्छन्।

‘एकै पटक ठुलो संख्यामा कर्मचारी बिदामा बसे भने अथवा कार्यालयमै बसेर काम प्रभावित पार्ने गरी आयोगको परीक्षामा व्यस्त भए भने सेवा प्रभावित हुन सक्छ,’ पराजुलीले भने, ‘त्यसैले सेवा प्रवाह प्रदान गर्ने कार्यालयहरूमा सेवा प्रवाहलाई प्रभाव पार्न नदिन कर्मचारीहरूलाई आलोपालो बिदामा बसाउने या कसरी व्यवस्था गर्न सकिन्छ, यसको जिम्मेवारी सम्बन्धित कार्यालयका कार्यालय प्रमुख तथा मन्त्रालयमा सचिवहरूले मिलाउनुपर्छ।’

आयोगको परीक्षाको बेला कर्मचारीहरू बिदामा बस्ने प्रचलनजस्तै भइसकेको उनको भनाइ छ।

झन्डै एक तिहाइभन्दा बढी निजामती कर्मचारीहरू असोजदेखि चैत मसान्तसम्म नै लोकसेवा आयोगको परीक्षामा व्यस्त हुने गर्छन्। कोही लोकसेवा आयोगको परीक्षाको तयारी कक्षाका ‘शिक्षक’समेत भएका हुन्छन् भने कोही विद्यार्थी भएका हुन्छन्। केही कर्मचारी कार्यालयमै बसेर कार्यालयको काम नभई आयोगको पाठ्यक्रम अध्ययन गरिरहेका हुन्छन्। कोहीले कम्प्युटर, ल्यापटपबाटै अध्ययन गर्ने गरेका हुन्छन् भने कोहीले किताब अध्ययन गरिरहेका हुन्छन्।

संघीय मामिलाका एक उच्च कर्मचारीका अनुुसार लोकसेवा आयोगको परीक्षामा तयारी गर्न केही कर्मचारी हुलाक विभाग, जिल्ला समन्वय समिति, विभिन्न संवैधानिक आयोगहरू, पानी जहाज कार्यालयजस्ता कार्यालय जहाँ केही काम हुँदैन, त्यस्ता कार्यालयमा सरुवा मिलाउने गर्छन्। त्यस्ता कार्यालमा गए भने दिनभरि लोकसेवा आयोगको परीक्षामा तयारी गर्न समय पुग्छ। मन्त्रालयका अनुसार यही समयमा धेरैजसो कर्मचारीले बिदा लिने गर्छन्। एकै पटक ठुलो संख्यामा कर्मचारीहरूले बिदा लिँदा सेवा प्रभावित हुने गर्छ।

राष्ट्रिय सतर्कता केन्द्रले बेलाबेलामा सरकारी कार्यालयमा छड्के गर्ने गरेको छ। छड्केका क्रममा कार्यालय समयमा हाजिरी गरेका पनि समयभित्रै कार्यालयबाट हिँडेका, कार्यालयमै बसेर पनि आयोगको परीक्षामा व्यस्त भएका, बिदा नलिई गयल भएका जस्ता कैफियत देखिने गरेको छ। यो सामान्यझैं भएको छ। केन्द्रका सूचना अधिकारी हीरामणि सुवेदीले कर्मचारीहरू सरकारी सेवा नै प्रभावित पारेर आयोगको परीक्षमा व्यस्त हुन नमिल्ने बताए। ‘बिदा लिएर आयोगको परीक्षा तयारी गर्न सकिन्छ। बिदा कर्मचारीहरूको सुविधा हो,’ सुवेदीले भने, ‘तर सरकारी सेवा नै प्रभावित पारेर आयोगको परीक्षामा व्यस्त हुन मिल्दैन।’

कर्मचारीहरूले सार्वजनिक सेवामा भन्दा आफ्नो वृत्ति विकास मात्र ध्यान दिदा सरकारी सेवा प्रभावित हुने गरेको गुनासो पहिले देखि उठ्दै आएको हो।

खासगरी लोकसेवा आयोगका आन्तरिक परीक्षाहरू खुल्ने बेला यस्तो गुनासो बढी उठ्ने गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘आन्तरिक बढुवा प्रणाली बन्द गर्न मिल्दैन। यो कर्मचारीहरूका लागि वृत्ति विकासको अवसर हो। तर आन्तरिक परीक्षाबाट बढुवा गर्ने प्रणालीबाट कर्मचारीहरू कामभन्दा पनि आयोगको परीक्षाको तयारीमा व्यस्त हुने गरेको तथ्य सही हो।’

प्रकाशित: २४ मंसिर २०८१ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App