हिउँदयाम सुरु भएसँगै क्रमिक रूपमा काठमाडौंलगायत देशभर चिसो बढ्दै गएको छ। केही दिनदेखि देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएको छ। चिसो बढेसँगे प्रदूषणको पनि जोखिम देखिएको छ।
प्रदूषणको हिसाबमा वर्षा यामभन्दा हिउँद तुलनात्मक रूपमा जोखिमपूर्ण मानिन्छ। हिउँदयाम अर्थात् चिसोमा प्रदूषणको मात्रा बढ्छ, जुन मानव स्वास्थ्यका लागि खतरनाक हुने विज्ञहरू बताउँछन्।
यस वर्षको हिउँदमा काठमाडौंलगायत देशभर अघिल्लो सालको जस्तै चिसो बढ्ने मौसमविद्हरूको भनाइ छ। अघिल्लो साल हिउँदमा काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुगेको थियो। यसपटक पनि न्यूनतम तापक्रम शून्य डिग्रीसम्म झर्ने अनुमान गरिएको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।
यस वर्ष हिउँदयामको विषयमा विश्लेषण गर्न आइतबार (डिसेम्बर ८ तारिख) काठमाडौंमा ‘विन्टर फोरम’ को बैठक बोलाइएको छ। बैठकमा दक्षिण एसियाली मुलुकका मौसमविद्हरू सहभागी हुने छन्। बैठकले काठमाडौंलगायत देशभर हिउँदमा कति डिग्रीसम्म तापक्रम घट्न सक्छ, वर्षा हुन्छ कि हुँदैन, भए कतिसम्म हुन सक्छ लगायतका विषयमा अनुमान र अध्ययन गर्ने जानकारी मौमसविद् अर्यालले दिए।
डिसेम्बर र जनवरी सबैभन्दा चिसो महिना मानिन्छन्। फ्रेबुअरीको दोस्रो सातादेखि चिसो विस्तारै कम हुँदै जान्छ। हिउँदमा पश्चिमी वायुको प्रभावका कारण हल्का या मध्यम वर्षा भएमा चिसो झनै बढ्ने मौसमसवद्हरूको भनाइ छ। यसवर्ष हिउँदे वर्षा हुने या नहुने भन्नेमा अहिले नै भन्न नसकिने अर्यालले बताए।
काठमाडौंको बिहीबारको न्यूततम तापक्रम ५ दशमलब ७ र अधिकतम तापक्रम १९ दशमलब ८ डिग्री रेकर्ड भएको छ। जुम्लामा बिहीबार धेरै चिसो भयो। जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलब ९ र अधिकतम तापक्रम १८ दशमलब ४ डिग्री रेकर्ड भएको छ।
बिहीबार सबैभन्दा धेरै न्यानो धनगढी रह्यो। धनगढीमा अधिकतम तापक्रम २६ दशमलब ८ र न्युनतम तापक्रम ११ दशमलब ३ डिग्री मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार कोसी, गण्डकी, बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सामान्यता सफा रहने अनुमान गरेको छ। कोसी प्रदेशको पहाडी भूभागमा एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
चिसोले प्रदूषण बढाउने
मौसमविद्हरूका अनुसार चिसोयाममा हावाको बहाव कम हुँदा धुलोका मसिना कणहरू (२.५ पिएम) जमिनमै टाँसिएर बस्छन् भने गर्मी याममा हावाको बहाव बढी हुनाले त्यस्ता कणहरू जमिनको सतहबाट आकाशमा उड्छन्। त्यसैले चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने विज्ञहरूको भनाइ छ। चिसोयाममा शीतलहर चलेका बेला प्रदूषणको जोखिम झनै बढ्ने वातावरणविद्हरू बताउँछन्।
काठमाडौंजस्तो वरिपरि पहाडले घेरिएको खाल्डोमा चिसोयाममा धुलाका मसिना कणहरू गुम्सिएरै हावाभित्र जमिनको सतहमै रहन्छन्। जसबाट प्रदूषणको जोखिम वर्षाभन्दा हिउँदमा बढी हुन्छ। वर्षायाममा वर्षा हुने भएकाले धुलोका कणहरू वर्षासँगै हट्ने भएकाले पनि तुलनात्मक रूपमा मानव स्वास्थ्यका लागि हिउँदभन्दा वर्षायाम उपयुक्त हुने वातावरणविद्को भनाइ छ।
हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ५० भन्दा कम देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मानिन्छ। विश्व स्वास्थ्य संगठनले भने हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ४० भन्दा कम देखिए ग्रिनजोन मान्ने गरेको छ। नेपालले ५० सम्म देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मान्ने गरेको छ।
वातावरणविद्का अनुसार प्रदूषणको मात्रा प्रतिघनमिटर एक सयसम्म भए त्यसलाई एलो जोन मान्ने गरिएको छ। प्रदूषण मापन गर्न राखिएका स्टेसनहरूले सयभन्दा कम देखिए त्यस क्षेत्रलाई बस्न ‘ठिकै अवस्था’ मान्ने गरिन्छ। तर प्रदूषणको मात्रा १ सय ५० र त्योभन्दा माथि देखिएमा त्यसलाई रेड जोनमा राखिन्छ।
रेड जोनले बस्न जोखिमपूर्ण रहेको संकेत गर्छ। नेपालमा प्रदूषणको मात्रा बढ्नुमा गाडीबाट निस्कने धुवाँ ३५ प्रतिशत जिम्मेवार छ। यसैगरी उद्योग तथा कलकारखानाले २५ प्रतिशत र इँटाभट्टाहरूले २५ प्रतिशत प्रदूषण बढाउने गरेका छन्। बाँकी १५ प्रतिशत प्रदूषण अन्य क्षेत्रबाट पैदा हुने विज्ञ बताउँछन्।
प्रकाशित: २१ मंसिर २०८१ ०५:४० शुक्रबार