चासोक तङनाम पर्व २०८१ को अवसरमा फुङलिङ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
फुङलिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले चासोक मंसिर २१ गते शुक्रवार एक दिन स्थानीय बिदा दिने निर्णय भएको जानकारी दिए। शुक्रबार नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था एवम् शिक्षण संस्था बन्द रहने फुङलिङ नगरपालिकाले जनाएको छ।
चासोक तङनाम सञ्चालन समितिले मंसिर १५ गते फुङलिङ नगरपालिका वडा नं ४ अम्बिटारस्थित भानुजन माविको खेलमैदानमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप,सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ। शनिबार गोल्डकपको फाइनल हुने छ भने शुक्रवार सांस्कृतिक कार्यक्रम सहितका विविध मनोरञ्जनात्मक कार्यक्रम हुने चासोक तङनाम सञ्चालन समितिका उपाध्यक्ष दिनेश लिङखिमले जानकारी दिए।
सांस्कृतिक कार्यक्रममा लागि शान्तिश्री परियार,झूमा लिम्बू,माल्भिका सुब्बा सहितका कलाकार आउँदैछन् भने रैथाने ब्याण्डको प्रस्तुति समेत रहने छ। चासोक तङ्नाम न्वागी खाने पर्व हो।
प्रकाशित: २० मंसिर २०८१ १३:३३ बिहीबार





