पहिले बाराको बरियारपुरमा मात्र लाग्ने गढीमाई मेला अहिले बज्जिका क्षेत्रभर फैलिएको छ। रौतहट, सर्लाही र बाराका झन्डै दुई दर्जन स्थानमा यो पञ्चवर्षीय मेला एउटै तिथिमितिमा मनाइँदैछ। विशेषगरी, रौतहट जिल्लामा सबैभन्दा बढी गढीमाई मेला लागिरहेको छ।
रौतहटको गढीमाई नगरपालिकासहित गरुडा, कटहरिया, माधवनारायण, वृन्दावन नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा गढीमाई मेलाको आयोजन भइरहेको छ।
गढीमाई नगरपालिका–४ सुन्दरपुरमा ६० वर्षदेखि गढीमाई मेला लाग्दै आएको छ। नगर प्रमुख श्यामप्रसाद यादवका अनुसार यस वर्ष यो १६ औँ मेला हो।
नगरपालिकाको हरैया र धर्मपुरमा पनि पञ्चवर्षीय मेला लाग्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले जानकारी दिए।
गरुडा नगरपालिकामा चार स्थानमा गढीमाई मेला लागिरहेको छ। गरुडा–२ गेडहीगुठीमा मात्र तीन स्थानमा मन्दिर निर्माण गरी मेला लाग्ने गरेको वडाध्यक्ष कृष्णनन्दन सहनीले बताए। यस्तै, वडा नम्बर-९ गढीटोलामा पनि लामो समयदेखि यो मेला लाग्दै आएको छ।
कटहरिया नगरपालिकाको दुधियाभार र बलिरामपुर गाउँ, माधवनारायण नगरपालिकाको माधोपुर गाउँ, गुजरा नगरपालिकाको कनकपुर र वडा नम्बर-४, वृन्दावन नगरपालिकाको धनगढी, फतुवा विजयपुर नगरपालिकाको बैरगनिया, र दुर्गा भगवती गाउँपालिकाको करबोलमा पनि गढीमाई मेलाको आयोजना भइरहेको छ।
फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले बैरगनियामा लामो समयदेखि मेला लाग्दै आएको बताउँदै यस वर्ष मेलाको तयारी भव्य रहेको जनाए। माधवनारायण नगरपालिका-६ का वडाध्यक्ष रामनरेश यादवका अनुसार माधोपुरमा तेस्रो पटक मेला आयोजना गरिएको हो।
सर्लाहीमा रामनगर, बहरहथवा र कविलासी नगरपालिकाका चार स्थानमा गढीमाई मेला लागिरहेको छ। रामनगर गाउँपालिकाको खैर्वा बहुअर्वामा निकै पहिलेदेखि गढीमाई मेला लाग्दै आएको हो। यसैगरी, बरहथवा नगरपालिकाको टोकार र कविलासी नगरपालिकाको रनिया पिपरिया तथा जमुनियामा मेला लागेको छ।
बाराको महागढीमाई नगरपालिकाको बरियारपुर र सिमरा जितपुर उपमहानगरपालिकाको जितपुरमा मेला लाग्ने गरेको छ। विश्व प्रसिद्ध बरियारपुर मेला हुने दिन नै दर्जनौँ स्थानमा पञ्चवर्षीय मेला लाग्न थालेको छ।
बज्जिका संस्कृतिका जानकार तथा साहित्यकार सञ्जय साह मित्रका अनुसार गढीमाई केवल मेला मात्र नभई सांस्कृतिक रुपमा पनि विस्तार भएको छ। उनले बज्जिका भाषा बोलिने क्षेत्रमा गढीमाई संस्कृतिको महत्व थप गहिरो भएको बताए।
बरियारपुरस्थित गढीमाई मन्दिरको पूजा विधि र तिथि उस्तै हुने गरी अन्य स्थानमा पनि मेलाको आयोजना भइरहेका छन्। यी मेलामा करोडौँको व्यापार व्यवसाय हुने गरेको छ।
प्रकाशित: १९ मंसिर २०८१ १८:१४ बुधबार