रामसीता विवाह पञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि भारतको अयोध्याबाट मंसिर १२ गते हिँडेका जन्ती आज जनकपुरधाम आउँदैछ।
करिब पाँच सयको संख्यामा साधुसन्तको जन्ती टोली सोमवार राति महोत्तरीको मटिहानीमा रात्रि विश्राम गरेर आज जनकपुर आउन लागेका हुन्।
मटिहानीमा साधुसन्तको जन्ती टोली आइपुग्दा नगर प्रमुख हरिप्रसाद मण्डल लगायत नगरवासीले बाजागाजासहित भव्य स्वागत गरेका थिए।
सोमबार मटिहानी प्रवेश गरेका जन्ती टोली दिउँसो जनकपुर आउने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए। उनले जन्तीको स्वागत गर्न नगरवासीसँग अपिल गरेका छन्।
उनले भने, प्रत्येक पाँच वर्षको अन्तरालमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती आउँछ। यो हाम्रो सौभाग्य हो। जन्तीलाई हामीले भव्य स्वागत गर्नुपर्छ।
उनले चार दिनसम्म जनकपुरधाममा रहने जन्तीको बास र खानासहित सबै व्यवस्था मिलाएको बताए।
मटिहानीबाट हिडेका जन्ती अपरान्ह ३ बजे जनकपुरको बाह्रबिघा मैदानमा पुग्नेछ र त्यहाँबाट जानकी मन्दिरमा ल्याएर स्वागत गर्ने कार्यक्रम रहेको छ।
२०६१ सालदेखि अयोध्याबाट जन्ती आउने थालेको छ। प्रत्येक पाँच वर्षको अन्तरालमा आउने जन्ती चौथोपटक जनकपुर आएको हो।
सप्ताहव्यापी रूपमा मनाउने रामजानकी विवाह पञ्चमी महामहोत्सवको रौनक बढेको छ। १६ गतेदेखि जानकी मन्दिरमा सीताराम विवाह पञ्चमी जारी छ। पहिलो दिन आइतबार नगर दर्शन मनाइयो। दोस्रो सोमवार जानकी मन्दिरछेउकाे विवाह मण्डपमा फूलबारी लीला गरियो।
जन्तीलाई जानकी मन्दिरमा स्वागत गरेपछि पुनः जन्तीलाई बाह्रबिघा रंगभूमि मैदानमा लग्नेछ। त्यहाँ धनुषयज्ञ हुनेछ। कसैले हल्लाउन पनि नसकेको शिव धनुष भगवान् श्रीरामले तीन टुक्रा पारेपछि माता सीतासँग विवाह तय भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
प्रकाशित: १८ मंसिर २०८१ ११:२६ मंगलबार