४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

अब पोखरेलीले सिधै धाराबाट पानी पिउन सक्ने

<br>

पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका अधिकांश संरचना निर्माण सम्पन्न भइसकेकाले पोखरेलीको उक्त सपना पूरा हुन लागेको हो।

आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरूको शुक्रबार संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरे।उद्घाटनसँगै जाईकाले सम्पूर्ण संरचना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरेको छ।

आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरूको उद्घाटन भए पनि शुक्रबारदेखि नै पोखरेलीको घरघरमा जडान भएका धारामा शुद्ध खानेपानी भने आई हाल्दैन। त्यसका लागि करिब एक हप्ता कुर्नुपर्ने बताइएको छ। केही संरचना निर्माण गर्न बाँकी रहेको तथा ट्याङ्कीहरू सफा गर्न समय लाग्ने भएकाले घरको धारामा शुद्ध खानेपानी ३ दिनदेखि एक हप्तासम्ममा मात्रै आई पुग्ने कर्मचारीहरू बताउँछन्। त्यसपश्चात् भने पोखरेलीले धाराको पानी सिधै पिउन सक्नेछन्।

किनकि पानीको शुद्धीकरण गरेर पठाइने भएकाले पहिलेजस्तो धमिलो हुनेछैन भने ब्याक्टेरिया पनि निर्मलीकरण गरेर पटाइनेछ।जाईकाले ४ अर्ब ८१ करोड रुपैयाँको अनुदान सहयोगमा यो आयोजना निर्माण गरेको हो । पोखरेलीलाई बुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले २०७६ सालमा सुरु गरेको आयोजना हालै सम्पन्न गरेको हो । आयोजना अन्तर्गत बालुवा हटाउने ट्याङ्की ४ वटा, पानी थिग्राउने ट्याङ्की ४ वटा, पानी छान्ने फिल्टर ६ वटा, सफा पानी संकलन ट्याङ्की (३)घन मिटरका २ वटा, क्लोरिनेसन प्लान्ट, पानी पोखरीलगायतका संरचना निर्माण सम्पन्न भइसकेको जाइकाले जनाएको छ।

त्यस्तै, पोखरा–५ प्रस्याङ र पोखरा–११ फूलबारीमा २०/२० लाख लिटर क्षमताका १÷१ वटा पानी संकलन ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । पोखरा–१५ कोलपाटनमा सोही क्षमताको अर्को पानी संकलन गर्ने ट्याङ्की निर्माण गर्ने भनिए पनि बनाउन बाधा पुगेको छ।त्यहाँ ट्याङ्कीको उचाइ बढी देखिएको भन्दै नेपाल हवाई उड्डयन प्राधिकरणले निर्माण कार्य जारी रहँदा निर्माणमा रोक लगाएपछि हाललाई सो निर्माण कार्य स्थगित भएको हो।अब त्यसलाई पुनर्निर्माण गर्ने कि उचाइ घटाएर कम क्षमताको बनाउने भन्नेमा टुंगोमा पुगेर निर्माण सम्पन्न गरिने जाईका श्रोतले बताएको छ।

यसबाहेक पोखरेलीलाई शुद्ध पिउने पानी वितरणका लागि १११ किलोमिटर पाइप जडानसमेत गरिसकेको जनाइएको छ।

यो आयोजनापश्चात् अब पोखरेलीको धारामा दैनिक ४ करोड लिटर पानी ट्रिटमेन्ट प्लान्टले शुद्ध र सुरक्षित रुपमा प्रशोधन गरी पठाउनेछ।

आयोजनाको संरचना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले अबदेखि पोखरेली शुद्ध पिउने पानी पाउने दाबी गरे । उनले भने,आजैदेखि पोखरेलीले शुद्ध र सुरक्षित खानेपानी प्राप्त गर्नेछन्, जुन शुद्ध अनि सफा हुनेछ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीले अबदेखि धमिलो पानी पिउन नपर्ने बताए । उनले भने,हिलो मिसिएको धमिलो पानी अब पोखरामा आउँदैन । अब सिधै धाराबाट पिउन मिल्ने पानी आउँछ।’ तर आयोजना सञ्चालन गर्ने दक्ष कर्मचारी खानेपानी संस्थानसँग हुनुपर्ने बताए। नभए त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे।

प्रकाशित: १४ मंसिर २०८१ १९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App