१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

योगदानमा आधारित सामाजिक सुरक्षामा १८ लाख आबद्ध

सुरक्षा योजनामा ११ अर्ब ६२ करोड रूपैयाँ भुक्तानी

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा करिब १८ लाख जना आवद्ध भएका छन्। वैदेशिक रोजगार, औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्नेले अहिले योगदान गरेको आधारमा भविष्यमा पेन्सनलगायतका सुविधा दिन सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। कोषका अनुसार सामाजिक सुरक्षा कार्यक्रममा कुल १७ लाख ९७ हजार ६ सय ४० जना आवद्ध भएका छन्। कोषले २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

सामाजिक सुरक्षामा आबद्ध हुने सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएकाहरू रहेको सामाजिक सुरक्षा कोषको सचिवालयले जनाएको छ। कोषका अनुसार वैदेशिक रोजगारीमा गएका १२ लाख ५३ हजार ६ सय १५ जना योगदानकर्ता रहेका छन्। त्यसैगरी, अनौपचारिक क्षेत्रमा काम गर्ने तीन सय सात र स्वरोजगार दुई सय सत्ताइस जना रहेका छन्। रोजगारदाता १९ हजार सात सय ६९ जनाले योगदान गरेका छन्। कुल ६८ अर्ब ६८ करोड रूपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा भएको छ।

कोषमा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत (११ प्रतिशत श्रमिकका तर्फबाट र २० प्रतिशत रोजगारदाताका तर्फबाट) मासिक जम्मा गर्नुपर्छ। जम्मा भएको ३१ प्रतिशत रकम विभिन्न योजनाअन्तर्गत बाँडफाँट हुन्छ। योगदान रकमको सबभन्दा बढी हिस्सा २८.३३ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुन्छ। जसमध्ये २० प्रतिशत रकम निवृत्तिभरण (पेन्सन) योजनाअन्तर्गत रहन्छ भने बाँकी ८.३३ प्रतिशत अवकाश योजनामा जम्मा हुन्छ। त्यस्तै १.४ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत जम्मा हुन्छ। औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षाका लागि एक प्रतिशत र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ०.२७ प्रतिशत रकम जम्मा हुन्छ। यो सुविधाका लागि कोषमा योगदान हुनुपर्छ।  

हालसम्म कोषमा ६८ अर्ब ६८ करोड रूपैयाँ योगदान रकम जम्मा भएको छ। कोषले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिका लागि विभिन्न सामाजिक सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना रहेका छन्।

कोषले सञ्चालन गरेका औषधिउपचार तथा मातृत्व योजनामा अहिलेसम्म तीन लाख ७४ हजार एक सय वटा दाबी बापत एक अर्ब ४८ करोड १९ लाख आठ हजार रूपैयाँ भुक्तानी गरेको छ। त्यसैगरी, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा सात हजार एक सय १७ वटा दाबी बापत १५ करोड २० लाख र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत पाँच सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख र वृद्धा अवस्था सुरक्षा योजना अन्तर्गत नौ अर्ब ८० करोड गरी ११ अर्ब ६२ करोड रूपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरेको जनाएको छ।

कोषले प्रभावकारी रूपमा सेवा दिन केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरेको छ। चालु आर्थिक वर्षमा कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको जनाएको छ।

काठमाडौंमा मंगलबार आयोजित सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने घोषणा गरेका छन्। केही दिन मात्र काम गरेकाहरूले समेत सामाजिक सुरक्षा पाउनुपर्ने व्यवस्था लागु गरिने बताए।  

थोरै सेवा गरेकाहरूले समेत आफ्नो काम अवधिको सामाजिक सुरक्षा पाउने गरी कोषमा आवद्ध हुने व्यवस्था गरिने बताए। ‘वैदेशिक रोजगारीमा गएका सबै युवालाई पनि यसै कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘अस्थायी, ज्यालादारी, करारमा रहेका सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र समेट्नुपर्छ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले निजी क्षेत्रले आफ्ना श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन ढिला नहुने बताए। ‘सरकारी सेवामा रहेका अस्थायी र करारका कर्मचारीलाई कोषमा आबद्ध गराउन अर्थ मन्त्रालयसँग परामर्श भइरहेको छ,’ भण्डारीले भने, ‘निजी क्षेत्रले पनि योगदान गर्नुपर्छ।’ औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्नुपर्ने स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बताए।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्ष मुनिका छोराछोरीले समेत स्वास्थ्य उपचार सुविधा पाउने कोषले जनाएको छ।  

सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुराको जानकारी दिए । पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका उनीहरूका छोराछोरीका लागिसमेत उपचार सेवा थप गरिएको बताए।

प्रकाशित: १२ मंसिर २०८१ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App