३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

मेयरसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष ६ महिना कैद

विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतले उनीहरूलाई दामासाहीमा २१ लाख ६० हजार बिगो र जरिवाना र २ वर्ष ६ महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो।

विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई सजाय निर्धारण गरेको हो। विशेषले उनीहरूलाई कात्तिक ३० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला सुनाएको थियो। उनीहरुलाई आज सजाय सुनाइएको हो।

विशेषले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई बिगो र जरिवाना गरी ४३ लाख ठहर गरेको हो।

अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

भवन निर्माणमा भ्रष्टाचार भएको भनी उच्च अदालत राजविराजमा सुरुमा रिट दर्ता भएको थियो। उक्त रिटमा सुनुवाइ गर्दै उच्चले अघि नबढाउन आदेश गरेको थियो।

तर, उनीहरूले नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्नू भन्ने जनकपुर उच्च अदालत राजविराज इजलासबाट जारी निषेधाज्ञाको आदेशविपरीत टेन्डर आह्वान गरेका थिए। उनीहरूले भवन निर्माणस्थल नै निश्चित नगरी ठेकेदार कम्पनीलाई एक करोड आठ लाख रुपैयाँ भुक्तानी समेत दिएका थिए।

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट मेयर बनेका थिए।

प्रकाशित: १० मंसिर २०८१ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App