५ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

एभोकाडोसहित स्थानीय उत्पादनहरूको प्रदर्शनी, १,४०० ले गरे अवलोकन

तस्विर : मेयर चिन्तन तामाङको सचिवालय

धनकुटामा एभोकाडोसहित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको छ। धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन र किसान तथा उद्यमीहरुलाई प्रोत्साहन गर्न मङ्गलबार एक दिने प्रदर्शनी आयोजना गरेको हो।  

पूर्व राज्यमन्त्री तथा प्रदेश सभा सदस्य निरन राईले दीप प्रज्वलन गरेर प्रदर्शनीको उद्घाटन गरे। कार्यक्रममा सांसद राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, र नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुर्याएको बताएका थिए।  

प्रदर्शनीमा स्थानीय किसानले उत्पादन गरेका फलफूल र तरकारीका साथै स्थानीय उद्योगका वस्तुहरु राखिएका थिए। २२ वटा स्टलमा आयोजना गरिएको प्रदर्शनीमा एभोकाडोका स्टल विशेष गरी आकर्षक थिए। एभोकाडोको आकार १ किलो २३० ग्रामसम्मको थियो।  

यो प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्यो, र करिब १,४०० जनाले स्थानीय उत्पादन अवलोकन गरे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए।  

धनकुटाले पाँच वर्षअघि एभोकाडोको राजधानी घोषणा गरी यसको प्रवद्र्धनमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ। हाल, धनकुटामा ४,९२६ परिवारले १२,०९९ रोपनी क्षेत्रफलमा एभोकाडो खेती गर्दै छन्।

प्रकाशित: ५ मंसिर २०८१ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App