६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

जलाशयमा हजारौंले गरे कार्तिक स्‍नान

रौतहट र सर्लाहीका हजारौँ मानिसले बागमती नदीमा स्नान गरेका छन् । कात्तिक पूर्णिमाको दिन गंगास्नान गर्ने चलन रहेबमोजिम बागमती नदीसहित विभिन्न जलाशयमा हजारौँले स्नान गरेका हुन् ।  कात्तिक पुर्निमाको दिन गंगास्नान गरे पापबाट मुक्ति पाउने जनविश्वास रहेको छ ।

रौतहट र सर्लाहीको बीचमा बग्ने बागमती नदीको दुवैतिरको घाटमा सर्वसाधारणले स्नान गरी पूजाआजा गरेका हुन् । बागमती नदीको नुनथर, विश्रामपुर, समनपुर, लक्ष्मीपुर, धरमपुर, रजबाडा, भलोहिया, पिपरा, बडहर्वासहित दर्जनभन्दा बढी घाटमा मानिसहरु स्नानका लागि भेला भएका थिए । बकैया नदीको दर्जनौँ घाटमा हजारौँले स्नान गरेका छन् ।

नदीको किनारमा रातभर जाग्राम बस्ने प्रचलन अनुसार हजारौँ मानिसले नदीको घाटमै रात बिताएका छन् । बागमती नदीको नुनथर घाटमा गंगा सेवन गर्न बारा र पर्सा जिल्लाबाट समेत श्रद्धालुहरु पुगेका थिए । बागमती नदीमा स्नान गरी नुनथरमा रहेको महादेव मन्दिरमा हजारौँले दर्शन गरेका छन् ।

कात्तिक पूर्निमाको अवसरमा बागमती नुनधरमा मेला लाग्दै आएको छ । मेला भर्न रौतहट, सर्लाही, बारा, पर्सा, मकवानपुर तथा सिन्धुली जिल्लाबाट श्रद्धालुहरु पुग्ने गरेका छन् । रौतहट र सर्लाहीका अन्य केही ठाउँमा पनि कात्तिक स्नान मेला लाग्दै आएको छ ।

केही दिनदेखि रौतहट र सर्लाहीमा अत्यधिक चिसो बढेको भए पनि नदीमा नुहाउने श्रद्धालुहरुको संख्यामा कुनै कमी देखिएको छैन । 

प्रकाशित: ३० कार्तिक २०८१ १७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App