मोरङको विराटनगर र कटहरीबाट लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–४ का ६२ वर्षीय सहरुदिन मियाँलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार लागुऔषध गाँजा खरिद/बिक्री हुँदैछ भन्ने सूचनाका आधारमा मियाँको घरमा पुग्दा घरको आँगनमा कालो प्लाष्टिकले छोपेको अवस्था २ वटा पोलिथिनको झोलाभित्र ३ केजी गाँजा बरामद भएको थियो।
त्यस्तै, कटहरी गाउँपालिका–१ का ४१ वर्षीय गोपालकुमार राजवंशीलाई ५ केजी गाँजासहित पक्राउ गरेको डिएसपी जोशीले बताए। पक्राउ परेका राजवंशीले घरबाट लागुऔषध गाँजा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा घर खानतलासी गरिएको थियो।
खानतलासी गर्दा उनको घरको कोठाभित्रबाट प्लाष्टिकको झोलामा पोका पारेर राखेको अवस्था ५ केजी गाँजा बरामद भएको डिएसपी जोशीले बताए। गाँजासहित पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ कार्तिक २०८१ १९:२१ बुधबार