भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनअनुसार बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का तोड्ने प्रक्रियामा मन्त्रालय अघि बढ्ने बताएका छन्।
बिहीबार नारायणगढ–बुटवल सडकखण्डका जनप्रतिनिधिहरुले निर्माणमा लापरवाही भएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा मन्त्री दाहालले उक्त धारणा राखेका हुन्।
उनले बुटवल–नारायणगढ सडक निर्माणका लागि तिहारपछि काम सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिइए पनि हालसम्म काम सुरु नभएको जानकारी दिए। उनका अनुसार, एशियाली विकास बैंक (एडिबी) को ऋणबाट सञ्चालित यो आयोजना भएकाले चीनमा रहेको निर्माण कम्पनीको कार्यालयमा समेत ताकेता गरिएको थियो।
मन्त्री दाहालले सम्झौताअनुसार समयमा काम सक्न बारम्बार आग्रह गरे पनि हालसम्म निर्माणमा प्रगति नभएको बताउँदै पछिल्लो पटक निर्माण कम्पनीका जिम्मेवार व्यक्तिले डिसेम्बरको अन्त्यसम्म काम सुरु गर्ने भनेर एसएमएस पठाएको उल्लेख गरे।
उनले भने, ‘हामीले तिहारपछि काम थाल्न निर्देशन दिएका थियौं तर अहिलेसम्म थालनी भएको छैन। निर्माण कम्पनीले ७ अर्ब रकम पठाएका कारण थप रकम पठाउन नसकिने बताएको थियो। तर सरकारले भुक्तानीमा कुनै अवरोध गरेको छैन।’
उनले यसै वर्षको डिसेम्बरबाट काम थालनी गरेको अवस्थामा निर्माण कम्पनीलाई नै काम दिने तयारी रहेको बताउँदै, काम सुरु नगरेको अवस्थामा भने ठेक्का तोड्न अन्य विकल्पमा जानुपर्ने निर्णयमा मन्त्रालय पुगेको स्पष्ट पारे।
प्रकाशित: २९ कार्तिक २०८१ १५:१८ बिहीबार