२६ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

गाउँमा राेजगारी छैन, अब कमाउन कालापहाड !

.

जुम्लको सिंजा-६ का देवीलाल रावत वर्षमा दुई पटक मात्रै घर फर्किन्छन्। हरेक वर्ष दसैं-तिहारको चाडबाड सकिएपछि उनी रोजगारीका भारततर्फ जाने गर्दछन्।

मकै, कोदो, सिमी, गहुँ लगायतका बाली भण्डारण गरेर उनी कार्तिक पहिलो साता भारततर्फ हिँड्छन् र फागुन वा चैतमा मात्रै घर फर्कन्छन्। यो क्रम उनको जुंगाको रेखी बस्ने समयदेखि अहिलेसम्म निरन्तर चल्दै आएको छ।

देवीलालको कथा जुम्लाका धेरै पुरुषहरूको जीवनसँग मेल खान्छ। रोजगारीको अभावले गाउँका युवाहरू कालापहाड जाने बाध्यतामा छन्। "गाउँमै काम पाएको भए घरमै बस्ने रहर सबैलाई हुन्छ। तर, गाउँमा आएका योजनाहरू पनि जनप्रतिनिधिका वरिपरिका केही व्यक्तिहरूलाई मात्र केन्द्रित हुँदा हामीलाई भारत नै जानुपर्ने हुन्छ," देवीलालले दुःख व्यक्त गरे।

उनकै गाउँका मनोज बुढा पनि बाली भित्र्याएपछि भारततिरै हानिएका छन्। उनी लामो समयदेखि भारतका विभिन्न स्थानमा काम र व्यापार गर्दै आइरहेका सुनाउँछन्। "दसैं मनाउन घर आएको थिएँ, चाड सकियो, अब घरमा बसेर के गर्नु ? पहिल्यैदेखि भारतमा काम गर्ने बानी परेकाले घरमा बस्दा मन लाग्दैन," उनले सुनाए। यसरी जुम्ला लगायत कर्णालीका सयौं पुरुष कामको खोजीमा भारततिर लागिरहेका छन्।

गाउँमा पर्याप्त रोजगारीका अवसर नभएका कारण धेरैजसो युवा भारतमै पसिना बगाइरहेका छन्। गाउँमा गरेको कामले परिवारलाई आधारभूत आवश्यकता धान्न मुस्किल पर्ने गुनासो दिनेश बुढाले पनि गरे। "यहाँ थोरै ज्यालामा काम पाइए पनि घरमै हुँदा खर्च बढी हुन्छ। भारतमा केही महिनासम्म बसेर कमाइ गर्दा ऋण तिर्न र अरू खर्च चलाउन सजिलो हुन्छ," उनले भने।

सिंजा क्षेत्र मात्र नभई कर्णालीका धेरै गाउँबाट कामको खोजीमा भारत जानेको संख्या बढ्दै गएको छ। कतिपय परिवारसहित नै भारततिर गइरहेका छन्, जसमा उमेर ढल्केका व्यक्तिदेखि युवा पुस्तासम्म छन्। आफ्नो खेतीपाती नभएकाहरूले बालबच्चा र पत्नीलाई समेत साथमा लिएर भारतको बाटो रोजिरहेका छन्।

गाउँमा अधिकांश पुरुष कालापहाड गएपछि महिला, वृद्ध र बालबालिका मात्रै गाउँमा रहेका छन्। जुम्लाका गाउँहरुमा अहिले महिलाले घरधन्दासँगै गाउँको सुरक्षा र रेखदेख पनि गर्नुपरेको छ। "पुरुषहरू नभएपछि हामी महिलाले नै रातदिन गाउँको हेरचाह गर्नुपर्छ," स्थानीय जोवना बुढाले भनिन्।

सिंजा–६ वडाका ४४१ घरधुरीमध्ये अधिकांश घरका पुरुष भारततिर मजदुरीमा गएका छन्। "गाउँमा ज्याला-मजदुरी गर्नसक्ने उमेरका सबै पुरुष भारत गइसकेका छन्। यहाँ महिला, वृद्धवृद्धा र बालबालिका मात्र छन्," वडा अध्यक्ष लालबहादुर बुढाले बताए।

स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्न नसक्दा यहाँका युवाहरूलाई बाहिर जानुपर्ने बाध्यता रहेको छ। विपना व्यवस्था भए पनि जुम्लाका युवा पुस्ताले आफ्नो दैनिकीमा कुनै परिवर्तन महसुस गर्न सकेका छैनन्।

गाउँमा रोजगारीको अभावले युवाहरू अझै पनि कालापहाडको बाटो रोज्न बाध्य छन्।

प्रकाशित: २३ कार्तिक २०८१ २१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App