२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सर्पदंशबाट प्रत्येक वर्ष तीन हजारको मृत्यु, अधिकांश गरिब’

सरकारी तथ्यांकमा कम संख्यामा देखिँदै आएको सर्पदंशको मृत्यु एक अध्ययनले भने प्रतिवर्ष तीन हजार जना गरिब परिवारको मृत्यु हुने गरेको आंैल्याएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंश, मुटु तथा मिर्गौला रोग विशेषज्ञ डा. सञ्जीवकुमार शर्माले यस्तो जानकारी दिएका हुन्।

बुधबार र बिहीबार भएको दुईदिने ‘नेपालमा सर्प र सर्पदंश व्यवस्थापन’ सम्बन्धी गोष्ठीमा प्रस्तुति दिने क्रममा यस्तो जानकारी दिइएको हो। उभयचर प्राणीविज्ञ र जनस्वास्थ्य विज्ञसहित सरोकारावाला निकायहरू कार्यशालमा सहभागी छन्।

उनका अनुसार सन् २०२२ मा प्रकाशित एक अनुसन्धान प्रतिवेदनले नेपालामा प्रतिवर्ष तीन हजारको मृत्यु हुने गरेको दाबी गरेको हो। हग जेनेभाका प्राध्यापक फ्रान्कोइस च्यापुस र नेपालस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सञ्जीवकुमार शर्माको नेतृत्वको टोलीले नेपालको तराई क्षेत्रमा गरेको अनुसन्धानले यस्तो औंल्याएको हो।

अनुसन्धान प्रतिवेदन ल्यानसेट जर्नलमा प्रकाशित भएको थियो। अनुसन्धानमा दुई देशका ६७ हजार घरमा पुगेर अध्ययन गरिएको थियो। यो अनुसन्धानले नेपालमा प्रतिवर्ष ३५ हजार जनालाई सर्पले टोक्ने गरेको छ। मृत्यु हुनेमध्ये ८० प्रतिशत अस्पताल नपुगी मृत्यु हुने भएको अध्ययनले जनाएको छ।

सरकारी तथ्यांकमा भने प्रतिवर्ष सर्पले प्रतिवर्ष ९ हजार एक सयदेखि ९ हजार पाँच सय जनालाई टोक्ने गरेको छ। तीमध्ये १० प्रतिशतको मृत्यु हुन्छ। उक्त अनुसन्धानले अस्पताल नपुगी हुने मृत्यु र मृत्युको कारण नखुल्ने गरी भएका सर्पदंशले हुने मृत्यु गरी प्रति वर्ष तीन हजार जनाको मृत्यु भएको पाइएको जनाएको डा. शर्मा बताउँछन्।

डा. सञ्जीव शर्माका अनुसार नेपालमा विशेष गरी करेत र गोमन दुई प्रजातिका सर्पको टोकाइबाट बढी मानिसको मृत्यु हुने गर्छ। गोमन र करेतले टोकेमा एक घण्टाभित्र अस्पताल पुगिसक्नुपर्नेमा समयमै उपचार नपाएर मृत्यु हुन्छ भने त्यसमा पनि करेतले राति सुतेको बेलामा मुसा खोज्न जाँदा मान्छेलाई टोक्ने गर्छ। यो सर्पले टोकेपछि नदुख्ने र घाउ पनि अत्यन्त सानो हुने हुँदा बिरामीले समयमै थाहा पाउँदैनन् र सुतेकै बेलामा मृत्यु हुन्छ। गाह्रो हुँदा अस्पताल जान ढिला भइसकेको हुन्छ र मानिसको मृत्यु हुन्छ।

गोमनले टोकेपछि समयमै अस्पताल नपुग्दा पनि मृत्यु हुन्छ। अस्पतालमा हुने मृत्युको अभिलेख सबै स्वास्थ्य केन्द्रले इपिडिमियोलोजी महाशाखामा सबैले नपठाउने भएकाले कम तथ्यांक आउने गरेको बताएको छ।

एक घण्टाभित्र उपचार केन्द्रमा पुगे पनि जटिल भएका बिरामी समयमै सुविधासम्पन्न अस्पतालमा पुग्न नसकेकाले पनि मृत्यु हुने गरेको डा. शर्माले बताए। उनले भने, ‘विष शरीरमा फैलिएर श्वास फर्न कठिन भएको बेलामा आइसियु, भेन्टिलेटर चाहिन्छ, त्यो सर्पदंशको उपचार केन्द्रमा हुँदैन,’ उनले भने।

यो बाहेक नेपाल सकारबाट निःशुल्क उपलब्ध एन्टिभेनम औषधी सबै प्रजातिका सर्पदंशमा काम गर्ने सुनिश्चित नभएकाले पनि नेपालमा धेरैको मृत्यु हुने गरेको डा. शर्माले बताए। ‘नेपालमा करेत सर्प मात्र पाँच प्रजातिका छन्, सबैलाई मिल्ने गरी औषधी छैन,’ उनले भने।

 नेपालमा सर्पदंशबाट मृत्यु हुनेहरूमा धेरैजसो विपन्न वर्गका किसान भएको डा. शर्मा बताउँछन्। उनीहरू भुइँमा सुत्ने, घाँस पराल निकाल्दा, खेतबारीमा जाँदा प्रायः सर्पले टोकेको देखिन्छ। यसका साथै प्वाल भएको कच्ची घरमा सुत्नु, झुलको प्रयोग नगर्नु, घरमा मुसाको प्वाल भएकाले पनि सर्पको टोकाइमा सबैजसो गरिब किसान परेको उनको भनाइ छ।

नेपाल सरकारले सर्पदंश उपचारमा केन्द्र विस्तार गरी निःशुल्क औषधीको व्यवस्था गरे पनि सर्पदंशमा कमी आउन नसक्नुमा जनस्तरमा जनचेतनाको पर्याप्त विकास हुन नसक्नु र उपचार केन्द्रको पूर्ण दु्रत पहुँचको कमी कायमै रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश डा. यदुचन्द्र घिमिरे स्वीकार गर्र्छन्। सन् ११९९ देखि नेपालले सर्पदंशमा निःशुल्क औषधी वितरण सुरु गरेको हो। हालसम्म देशभरीमा १०५ वटा सर्पदंश उपचार केन्द्र विस्तार भइसकेको छ।

उनको विचारमा सर्पले टोकेपछि जतिसक्दो छिटो उपचार केन्द्र पुग्नुपर्छ। यसका लागि सरकारले दक्ष जनशक्ति र संरचनासहितको उपचार केन्द्र विस्तार गर्ने तयारी भइरहेको बताए। नेपालमा लक्षित समूहमा अहिले पनि सर्पदंशबाट बच्ने उपायबारे आधारभूत जनचेतनाको कमी कायमै हुनुले अहिले पनि सर्पको टोकाइले वर्षेनी धेरैको मृत्यु भएको डा. घिमिरे र डा. शर्माले बताए।

सर्पदंशलाई नियन्त्रण गर्न नेपालले एक स्वास्थ्य रणनीति निर्माण गरेको छ भने सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले सर्पदंश नियन्त्रण निर्देशिका जारी गर्दै सन् २०३० भित्रमा सर्पदंशले हुने कुल मृत्युको ५० प्रतिशत घटाउने लक्ष्य लिएको छ। यसको लागि गाउँघरमै सर्पदंश रोक्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेको डा. शर्माको सुझाव छ।

नागरिक स्तरमा मुख्य दुईवटा कुरामा ध्यान दिएमा सर्पको टोकाइबाट सजिलै बच्न सकिने डा. शर्माको सुझाव छ। मुख्य गरी घरमा सुत्दा झुलको प्रयोग गर्ने, घरभित्र मुसा छिर्ने प्वाल टाल्ने, अँध्यारोमा घरबाहिर निस्कँदा लाइटको प्रयोग गर्ने, खेतबारीमा जाँदा अग्लो जुत्ता या पन्जाको प्रयोग गर्ने, घाँसपराल निकाल्दा पन्जाको प्रयोग गर्ने या राम्रोसँग हेरेर मात्र निकाल्नेजस्ता सावधानी अपनाएमा सर्पले सजिलै टोक्दैन। यसका साथै घरको झ्यालढोकामा जाली राख्नाले पनि सर्प घरभित्र सजिलै नछिर्ने चिकित्सक बताउँछन्। कुनै कारणवश टोकिहाले छिटोभन्दा छिटो उपचार केन्द्र गए बच्न सकिने उनको सुझाव छ।

सरकारले सर्पदंश नियन्त्रण कार्यक्रममा मुख्य तीनवटा तरिका अपनाउन उनीहरूको सुझाव छ। समुदायको सहभागिता, जनचेतना, उपचारको उचित व्यवस्थापन, सर्पको पहिचान जस्ता कार्यक्रमबाट नियन्त्रण गर्न सकिने चिकित्सकको सुझाव छ।

सर्प र मानिसको संरक्षणमा एआईको प्रयोग हुने

दुईदिने गोष्ठीमा सर्प र मानिस दुवैको संरक्षण हुने गरी अबको व्यवस्थापन आवश्यक भएको निष्कर्ष निकालेका छन्। यसका लागि जेनेभा विश्वविद्यालय र अन्य निकायसँग मिलेर सर्पदंश नियन्त्रणमा एआईको प्रयोग गर्ने कार्य भइरहेको कार्यक्रममा सहभागी जेनेभा विश्वविद्यालयका अनुसन्धानकर्ता राफेल रुइजले बताए।

विकसित देशमा पहिला नै प्रयोग भइसकेको एआईमार्फत सर्पको पहिचान गर्ने र टोकेको सर्पको पहिचान पनि एआई प्रविधिमार्फत नै गर्ने गरी व्यवस्थापन सुरु भइसकेको उनले जानकारी दिए। उनले विकसित देशमा यसको प्रयोग सुरु भइसकेको र केही वर्षमै नेपालमा यसको पहुँच पुग्ने गरी निर्माण कार्य भइरहेको बताए। एआईको प्रयोगमार्फत टोेकेको या समुदायको सर्पको फोटो पठाइन्छ। उक्त फोटो हेरेपछि विषालु या कुन प्रजातिको सर्प हो भन्ने पहिचान हुन्छ।

पहिचान भएपछि विषालु हो या होइन भन्ने थाहा पाएपछि बिरामीलाई निर्णय लिनसमेत सहज हुने डा. राफेलले बताए। यसको साथै यसको प्रयोगले अनुसन्धानकर्तालाई कुन ठाउँमा कुन प्रजातिको सर्प पाइन्छ भन्ने अनुसन्धानमा पनि सहज हुने बताए।

‘सर्पको पहिचानबाट स्वास्थ्यकर्मीले समयमा उपचार गर्न सक्छन्, संरक्षणकर्तालाई पनि सहज हुन्छ,’ उनले भने। जलवायु परिवर्तनको कारण नेपालका पहाडी भागमा समेत सर्पदंश बढेको हुनाले डा. रुइजले बताए।

सर्पले मानिसलाई टोकेर मृत्यु हुने मात्र समस्या नभई सर्पले टोकेपछि सर्प मार्ने चलन गलत भएको विज्ञहरूले बताएका छन्। वातावरणको संरक्षणको लागि सर्पको आवश्यकता भएकाले यसको संरक्षण आवश्यक भएको डा. शर्मा बताउँछन्। ‘सर्प मानुको सट्टा उद्धार टोलीमार्फत हटाउनु उचित हुन्छ,’ उनले भने।

प्रकाशित: २३ कार्तिक २०८१ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App