२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

क्षतिपूर्ति रकम बढाउने प्रस्ताव राख्न माग

प्रतिनिधिसभाका सांसदहरूले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा नेपालका तर्फबाट राखिनुपर्ने धारणा समेटिएको पत्र बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।

यही कात्तिक २६ देखि मंसिर  ७ गतेसम्म अजरबैजानको बाकुमा हुने उक्त सम्मेलनमा नेपालका तर्फबाट उठान गर्नुपर्ने मुख्य अजेन्डासहितको पत्र सांसदहरूले राष्ट्रपति पौडेललाई बुझाएका हुन्। राष्ट्रपति पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन कात्तिक २५ गते बाकुतर्फ जाने भएका छन्।

सांसदहरूले सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण खेप्नुपरेको भयावह असरको क्षतिपूर्तिलाई प्राथमिकता दिनुपर्ने, हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै पानी, जैविक विविधता र पर्यावरणीय सेवा प्रदान गर्ने देशका रूपमा आफ्ना माग स्पष्ट राख्नुपर्ने सुझाव दिएका छन्। नेपालमा जलवायु अनुकूलन प्रयासका लागि उपलब्ध कोष अत्यन्त न्यून भएकाले बढाउन माग गर्नुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।

नेपालले आफ्नो कुल भूभागको ४५ प्रतिशत वन जोगाएर पर्यावरणीय सन्तुलन कायम राखेको तथा विद्युतीय सवारीसाधनको प्रयोग र नवीकरणीय ऊर्जा उत्पादनमा प्रगति गरेको भए पनि आवश्यक वित्तीय सहयोग नपाउँदा योजना प्रभावकारी बन्न नसकेको विषय सम्मेलनमा उठाउनुपर्ने सुझाव पनि सांसदले दिएका छन्।

यसैगरी सांसदले सम्मेलनमा नेपालको माग र अडानका रूपमा जलवायु अनुकूलन कोषको पहुँचलाई दोब्बर बनाउन, हिमाल, मानव र जलवायु परिवर्तनको मुद्दालाई मुख्य प्राथमिकतामा राख्न, क्षति–नोक्सानी कोषलाई ऋणको सट्टा सहयोगका रूपमा उपलब्ध गराउन तथा कार्बन उत्सर्जन कटौतीका लागि ठोस योजना निर्माण र कार्यान्वयनमा जोड दिन सुझाएका छन्।

पत्रमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा प्रवेश गर्न लागेको सन्दर्भमा जलवायु न्यायको मुद्दामा अब सहकार्य कस्ता राष्ट्रहरूको सञ्जालसँग गर्ने भन्ने विषयमा रणनीतिक छलफल गर्न आवश्यक रहेको औंल्याइएको छ।

पत्र बुझेपछि राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा अत्यन्तै कम समय हुने भए पनि यी सुझावलाई समेट्ने प्रयास गर्ने बताए। ध्यानाकर्षण पत्र बुझाउन प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा एमाले सचेतक सुनीता बराल, सांसद माधव सापकोटा, प्रतिमा गौतम र सरस्वती सुब्बा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।

प्रकाशित: २३ कार्तिक २०८१ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App