२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

कथा बन्यो १३७ वर्षे मंगलाघाट-हाँडेभिर झोलुंगे पुल

पुरानो झोलुंगे पुल। तस्बिर: नागरिक

१३७ वर्ष पुरानो झोलुंगे पुल मासेर बेनी नगरपालिका–७, मंगलाघाटमा म्याग्दी नदीमाथिको स्टिलको झोलुंगे पुल बनेको छ। जीर्ण बनेर प्रयोगविहीन भएको झोलुंगे पुलको पुरानो स्वरूपलाई कायम राखेर मर्मत गरी सञ्चालन गर्न गरिएको प्रस्तावलाई सम्बन्धित निकायले अस्वीकार गरेपछि काठ हटाएर स्टिलको झोलुंगे पुल बनाइएको हो।

नेपालकै पुरानो दाबी गरिएको म्याग्दी सदरमुकाम बेनीस्थित मंगलाघाट–हाँडेभिर जोड्ने पुल १३७ वर्षअगाडि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले बनाएको बताइएको छ।

त्यतिखेर म्याग्दीको ग्रामीण क्षेत्रका खानीबाट निकालिएको काँचो फलामलाई गोलमा तताएर, कुटेर साङ्ले लट्ठा र काठको फलेक राखेर बनाइएको थियो। तर अहिले नयाँ बनाउने नाममा पुरानो स्वरूप नै मासिएपछि लामो इतिहास नै मेटिएको छ।

बेनी नगरपालिकाको पहलमा क्षेत्रगत झोलुंङे पुल सुधार कार्यक्रम र गैरसरकारी संस्था मिलन म्याग्दीमार्फत ३८ लाख रूपैयाँको लागतमा ४८ मिटर लामो पुल र्निर्माण गरी सञ्चालनमा आएको बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

‘पुरानोमै मर्मतको प्रयास पूरा नभएपछि नयाँ बन्यो, अब पुरानो लट्ठालाई राखेपछि मात्रै उद्घाटन हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने। १९४४ सालमा निर्माण गरिएको पाती चढाउने डिल र मंगलाघाट जोड्ने झोलुंगे पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेकाले एक वर्षसम्म बन्दसमेत गरिएको थियो। माथि र तल गरी दुईवटा साङ्ले लट्ठामा फलामका पाता र एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुंगो बनाइएको स्थानीय अगुवा एवं ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठ बताउँछन्।

‘तत्कालीन समयमा उक्त झोलुंगे पुलका लागि मैले धेरै सहयोग गरेको छु, पुरानो इतिहास नमेटिने गरी संरक्षण गर्नुपर्छ,’ समाजसेवी श्रेष्ठले भने।

तत्कालीन समयमा उक्त झोलुंगे पुल म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत–जावतका लागि प्रयोग हुने गरेको थियो। गाउँगाउँबाट श्रमदान गर्न ठुलो संख्यामा आएकाहरूबाट खुला आकाशमा भोकभोकै काम गरी झोलुंगे पुल निर्माण गरेका थिए।

नेपालमा झोलुंगे पुल राख्ने अभियान राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९६० सालमा गरेका भए पनि यो पुल त्यसको ठिक १६ वर्षअगाडि नै निर्मित भएको नेपालको झोलुंगे पुलको इतिहासमा उल्लेख छ।

प्रकाशित: २२ कार्तिक २०८१ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App