९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जनकपुरमा स्वदेशी उत्पादनको केरा बजारमा, छठका पूजा सामग्रीको मूल्य आकासियो

तिहार लगतै तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ। विधिवत् रुपमा छठको तयारी सोमबारदेखि नै सुरु भएको मानिन्छ। कारण, सोमबारदेखि नै छठको व्रत गर्ने व्रतालुहरूले लसुन, प्याज, माछा मासु लगायत खान छाड्छन्। र, मङ्गलवार नहाय खाय अर्थात् चोखो खाने दिन हुन्छ। त्यसपछि खरनाबाट ४८ घन्टे लामो व्रत सुरु हुन्छ।

तर, जनकपुर लगायत विभिन्न स्थानका बजारमा भने महँगी बढेको छ। विशेष गरी दैनिक रुपमा प्रयोग हुने तरकारीसहित पूजाका सामग्रीको मूल्य यति बेला आकासिएको छ।

चाडबाडको बेला उपभोक्ताले बाध्यता बस तरकारी र पूजाका सामग्री किन्नै पर्ने भएकाले व्यवसायीले सामग्रीको मूल्यमा मनपरी शुल्क तोक्ने गरेको उपभोक्ताहरूको गुनासो छ।

जनकपुरको देवी चोकका वीरेन्द्र लालले चाडबाडको बेला हरेक वर्ष झैँ यो वर्ष पनि तरकारीको मूल्य आकासिएको बताए।

उनले तिहारमा किलोको १०० देखि १२० रुपैयाँ रहेको काउली अहिले १४० देखि १५० सम्म पुगेको सुनाए। छठ पर्वकै लागि भनेर सामग्री खरिद गर्न जाँदा हरेक मूल्य मनपरी तोकिएको उनको भनाइ छ।

महोत्तरीका विमलेश ठाकुरको अनुभव पनि उस्तै छ। चाडबाडको मौका छोपी व्यवसायीहरूले छठमा केरादेखि कागतीसम्मको भाउ बढाउने गरेको उनको भनाइ छ।

उनले अरु बेला १० देखि १५ रुपैयाँ गोटामा पर्ने कागती अहिले  २५ देखि ३० गोटामा तोकिएको बताए।

छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै बढेको छ। छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भन्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ।

अहिले केरा घरीको  ५०० देखि १५०० सम्ममा बिक्री भएको व्यापारीहरू बताउँछन्। साथै उखु गोटाको ५० देखि ६० सम्ममा बिक्री भएको व्यापारीको भनाइ छ।

त्यस्तै भोगटे गोटाको ८० देखि १०० सम्म, नाङ्लो गोटाको २५० देखि ३०० सम्ममा बिक्री भइरहेको छ।

छठ पर्वमा केराको सिङ्गै घरी नै प्रसादका रूपमा चढाउनुपर्ने भएको हुँदा अहिले बजारमा केराको माग अत्यधिक देखिएको छ। तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरूमा अहिले केराको व्यापार बढेको छ।

विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्यधिक वृद्धि भएको छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगर बजारमा मागअनुसार आपूर्ति नभएकाले केराको मूल्यमा ह्वात्तै वृद्धि भएको एक उपभोक्ता सुदिप साहले बताए। 

प्रायः सबै बजारमा अहिले केराको खरिद बिक्री गर्नेको ठुलै भीड लागेको देखिन्छ।स्थानीय बजारमा केराको माग बढेपछि स्थानीय किसानले लगाएको केरा बजारमा ल्याउने क्रम जारी रहेको छ भने मुलुकको विभिन्न ठाउँमा जहाँ केराको खेती गरिन्छ, त्यहाँका केराले बजार आपूर्ति गरिने फलफूल तथा तरकारी व्यवसायी समिति जनकपुरका अध्यक्ष विश्वेश्वर यादवले बताए। नेपालमा बाहिरको केरा आयातमा प्रतिबन्ध रहेकाले यस वर्ष स्वदेशी उत्पादनकै केरालाई बढवा दिइएको उनले बताए। उनले झापा, सुनसरी र नवलपरासीको केरा यस वर्ष स्थानीय बजारमा ल्याइएको पनि बताए।

अध्यक्ष यादवका अनुसार स्थानीय बजारमा गोपाल केरा घरीको ५०० देखि १००० सम्ममा बिक्री भइरहेको छ भने मिर्चमान केरा १००० देखि १५०० सम्ममा बिक्री भइरहेको छ।उनले यस वर्ष स्थानीय बजारमा मिर्चमान केरा गत वर्षको भन्दा महँगो रहेको पनि बताए। गत वर्ष मिर्चमान केरा ५०० देखि ८०० सम्ममा बिक्री भएको थियो भने गोपाल केरा ८०० देखि १५०० सम्ममा बिक्री भएको थियो।

प्रकाशित: २० कार्तिक २०८१ २१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App