सुनसरीमा सोमबार भएका अलग अलग घटनामा १८ महिने बालकसहित दुई जनाको मृत्यु भएको छ।
इटहरी वडा नं. ८ ढोकापुल बस्ने सुदिप तामाङको १८ महिनाको छोरा रेमनको पोखरीमा डुबेर मृत्यु भएको छ। घर नजिकै रहेको पोखरीको पानीमा डुबेर रेमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। खेल्दै जाँदा पोखरीमा डुबेका बालकलाई बाहिर निकालेर घर ल्याउँदा तत्काल मृत्यु भएको हो।
यसै गरी, वराहक्षेत्र वडा नं. ७ सयपत्री चोक बस्ने २० वर्षे सुमन श्रेष्ठको बेहोस भएर लड्दा मृत्यु भएको छ। घटनाक्रम अनुसार सोमबार सुमन स्थानीय बुद्धचोकमा रहेको मिलमा धान कुटेको पैसा तिरेर फर्कँदै थिए। मिलमा पैसा तिरेर फर्कने क्रममा अचानक बिच बाटोमा लडी बेहोस भएका उनको तत्काल उपचारको लागि वराहक्षेत्र नगर अस्पताल भर्ना गरेकोमा राति मृत्यु भएको हो।
यसैबिच, कार्तिकमा पनि सर्पको डसाईबाट सुनसरी हरिनगरकी एक बालिका सिकिस्त भएकी छन्। हरिनगर वडा नं. १ की कैजुम सिद्दिकीको १६ वर्षे छोरी सहजादी खातुनलाई सर्पले डसेको हो। घरमै बसेका बेला उनलाई सर्पले डसेको थियो। उनको उपचार आर्मीको सर्पदंश अस्पताल इटहरीमा उपचार भइरहेको छ।
प्रकाशित: २० कार्तिक २०८१ १७:५६ मंगलबार