९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

५ करोड ठगेर फरार भएकी डान्सर विनुलाई कम्बोडियाबाट इन्टरपोलमार्फत नेपाल ल्याइयो

वैदेशिक रोजगारीमा ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउगरी नेपाल ल्याइएको छ।

सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउगरी ठगी मुद्दामा कारबाही गर्ने गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट पाँच करोड दुई लाख ९४ हजार ठगीगरी फरार भएकी थिइन्। 

उनी बेली डान्सर समेत हुन्। आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो। 

शाक्य आचार्यकी प्रमिका भएको बताइएको छ। 

अन्तर्राष्ट्रियस्तरमा खोजतलासगरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकामा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो।साथै पक्राउ परेकामध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको र  बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाहीका लागि काठमाडौं ल्याइएको हो। 

उनलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।

 

प्रकाशित: २० कार्तिक २०८१ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App