२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

दिदी बहिनी र दाजुभाइ नहुँनेले बालगोपालेश्वरमा गएर भाइटिका लगाए

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर ​परिसरमा आइतबार भाइटीका लगाउँदै ।तस्बिर दिपेश दर्शनधारी /नागरिक

प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन्। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा एवं दर्शन गरी टीका लगाउने गर्दछन्।

दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजे अघिदेखि नै मन्दिर प्रवेश गरेका थिए। मन्दिर बिहान ६ बजे अघिदेखि नै खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए। मन्दिर आज भक्तजन आएसम्म खुला गरिने पनि उनले बताए।

बिहान ६ बजेदेखि नै मन्दिर क्षेत्रमा स्वयंसेवीका रुपमा काम गरेकी सामुदायिक प्रहरी पुरानो बसपार्क कार्य समिति सदस्य दीपा केसीले बिहानदेखि बेलुकीसम्म नै मन्दिरमा भक्तजनको घुइँचो लागेको बताइन। विगत वर्षमा भन्दा यस पटक भाइटीकाका अवसरमा मन्दिरमा आउने भक्तजन बढेको उनले जानकारी दिइन।

खञ्जनेश्वरमा पनि भक्तजनको घुइँचो

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाई नहुनेले पूजा तथा दर्शन गरी टीका लगाएका छन्। यहाँ पनि पहिलेदेखि नै दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा आराधना गरी टीका लगाउने चलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा। गोविन्द टण्डनले जानकारी दिए। यहाँ पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हाम फाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको घुइँचो लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजन आउँछन्,” उनले भने।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन्। नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेका छन्।  

प्रकाशित: १८ कार्तिक २०८१ २०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App