१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

देउसी भैलोमा मौलिकताको खोजी

नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा लिइन्छ। यस्तै, यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ। त्यो भनेको देउसी भैलो खेल्नु। देउसी भैलाको आफ्नै विशेषता छ। त्यसको आफ्नै लय छ। एउटाले भट्याउने र अरु सहभागीले देउसी रे वा भैलो भन्ने गर्छन्। तर पछिल्ला दिनमा उसमा देखासिकी बढ्दै गएको छ। चर्को स्वरमा स्पिकर बजाएर ध्वनी प्रदुषण नै हुने गरी टोल समाजमा युवाले सस्कृतिको नाममा विकृति फैलाइरहेको गुनासो व्याप्त छ।

आधुनिकताको नाममा देउसी भेलो गाउने तरिका बदलिएको छ। खासगरी देउसी पुरुष  र भैली महिलाले खेल्ने परम्परा भएपनि शहरी क्षेत्रमा त्यो विशेषता समेत हराएको छ। विगतमा राम्रो तयारी गरेर युवा पुस्ताले देउसी भैलो खेल्थे। अहिले भने स्पिकर, मोबाइल वा क्यासेट बजाएर देउसीको सास्कृतिक पक्षमाथि नै अतिक्रमण भएको सर्वत्र देख्न सकिन्छ। दोहोरी गीत, पप र ¥याप गीत बजाउने जमात पनि उत्तिकै छ।

पहिले पहिले पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाउथे, देउसी भेलो खेल्थे। आर्शिवाद थाप्छे र आफ्नो गच्छे अनुसार, दक्षिणा दिन्थे। आजकल भने तोकेर नै दक्षिणा माग्ने प्रवृत्ति मौलाएको छ। यसबाट सांस्कृतिक पहिचान नै खतरामा परेको छ। देउसी भैलोबाट उठेको रकम आफुखुसी खर्च गर्ने वा सामाजिक काममा उपयोग गर्ने भन्ने बारेमा पनि फरक फरक मत छ।

मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो देउसीमा। विद्युतीय सामग्रीको प्रयोग गरेर खेल्दा परम्पराको जगेर्ना नहुने आम गुनासो रहँँदै आएको छ। नयाँ पुस्तालाई मौलिक संस्कार र पहिचानका बारेमा सचेत गराउनुपर्ने मत पनि उत्तिकै बलियो बन्दै गएको छ।

सास्कृतिक पक्ष कम, मनोरञ्जन बढी हुँदै जाँदा देउसी भैलोको परम्परागत महत्व समेत ओझेलमा परेको छ। स्थानीय लोकबाजाको प्रयोगमा कमी आएको छ। खासगरी पैसा संकलनको मात्रै माध्यम बनाइदा त्यसले विकृति फैलाउन सहयोग पु¥याएको देखिन्छ।  

तिहारलाई पारिवारिक सम्बन्ध र संस्कारको पर्वका रुपमा लिइन्छ। यमपञ्चकका रुपमा चिनिने यस पर्व पाँच दिन मनाइन्छ। खासगरी धन दौलत वैभव र सुखसँग जोडिनेभएकाले पनि यस पर्वलाई समृद्धिको पर्वका रुपमा पनि लिइन्छ। काग, कुकुर, गाइ, गोरुको समेत पूजा गरिने भएकाले तिहारलाई प्रकृतिसँग एकाकार भएको पर्वका रुपमा हेरिन्छ। यस पर्वको महत्वसँगै सयपत्री, मखमली र गुर्दौली फूल, र सेल रोटी पनि सँगै जोडिएर आउँछ।

आधिकारिक रुपमा केही तथ्य प्रमाण नभएपनि नेपालको मध्यकालदेखि देउसी भैलो सुरु भएको किंवदन्ती छ। जुम्लाको खस राज्य र बलीसँग यसको सांस्कृतिक पक्ष जोडिएको समेत बताइन्छ। देउसी रे वा देवश्री यसलाई देवताको आर्शिवादका रुपमा लिइने सांस्कृतिक मूल्य र मान्यता छ। परम्परादेखि नै तिहारमा गाइने देउसी र भैलीले नेपाली समाजलाई उत्सवमय बनाएको छ। यसलाई उत्सव, उल्लास र उत्साहको गीतका रुपमा पनि लिइन्छ।

तर, संस्कृति जगेर्नाको नाममा भइरहेको गलत क्रियाकलापलाई भने छुट दिन नहने मत पनि उत्तिकै छ। देउसी र भैलोले नेपाली समाजमा सास्कृतिक धरोहरका रुपमा परिचित छ।  ग्रामीण तथा शहरी क्षेत्रका प्रत्येक टोल टोलमा खेलिने भएपनि पछिल्ला दिनमा विकृति बढेको बताउँछन्  लेखक तथा साहित्यकार डा घनश्याम पुडासैनी।

“म ७२ बर्षको भए पहिले देउसी भैलो खेल्दा मौलिक स्वरुपमा हुन्थ्य। अहिलेको समयमा मौलिक परम्परालाई छाडेर शिष्टता भन्दा आधुनिकताका केन्द्रीत छ । मौलिकता हराएको छ ” उनले भने। अहिलेको युवा पुस्तामा तिहारमा देउसी भेलो भन्दा आधुनिक गीततिर केन्द्रीत भएर हिडेको देखिने उनको भनाइ छ।

लेखक देवेन्द्र अर्याल पहिलेको देउसी भैलो संस्कृति, मूल्य तथा मान्यतासहितको हुने गरेपनि पछिल्ला दिनमा आधुनिकताको नाममा विकृति बढ्दै गएको बताउँछन्। “देउसी भैलोको आफ्नै लयको गीत हुन्छ। भेषभूषा पनि त्यस्तै हुन्थ्यो। तर पछिल्ला दिनमा मोबाइल, स्पिकर बजाउने प्रचलन मौलाएको छ। आधुनिक भनिएका गीत संगीतमा केन्द्रीत भएको छ ” उनले भने।

सम्पदा संरक्षणमा लाग्दै आएका टोखाका मनिराज डंगोल पनि देउसी र भैलोको नेपाली मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्छन्। “पहिलाको देउसी भेलो घर घरमा गई मौलिक रुपमा खेलिन्थ्यो। अहिले मौलिक भन्दा भद्दा बढी हुन थालेको छ” उनले भने।  यमपञ्चकको कथामा भट्याएर खेलिने देउसी भैलो आजकल रेकर्ड गरिएको गीत बजाउने मात्रै गरिदा मौलिकपन हराउँदै गएको आफूले पाएको उनको कथन छ।

नेपाली, कला, संस्कृति र परम्परासँग जोडिएको यस पर्वलाई विकृति र विसंगतिमुक्त बनाउँदै भावि पुस्ताका लागि समेत जानकार गराउनु आजको प्रमुख विषय हो। सांस्कृतिक अतिक्रमण बढ्दै गएको सन्दर्भमा तिहार र यससँग जोडिएको मौलिकतालाई विस्तार गर्नु पनि उत्तिकै आवश्यक छ।  

प्रकाशित: १७ कार्तिक २०८१ १९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App