कैलालीको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो छन। २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा)चलाएर जीविका गर्दै आएका उनी काम नपाएर फुर्सदिलो भएका हुन। ठेला चलाएरै टीकापुरमा घर बनाएका उनीमा दिक्दारी देखिन्छ।
कुनै बेला भ्याइनभ्याइ काम पाउने उनी हिजोआज काम नपाउँदा रित्तो हात घर फर्कने गर्दछन् । विगतमा उनको दैनिक रु एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ हुन्थ्यो। “हाम्रो व्यापार इलेक्ट्रिक रिक्साले ओझेलमा पारिदिएको छ”, उनले भने, “कुनै विकल्प नभएपछि बाध्यतामा मात्रै हामीलाई बोलाइन्छ।”
काम नपाएकै कारण ठेला चलाएर गुजारा गर्न गाह्रो भएको मजदुरहरुको भनाइ छ। चाडपर्वमा झन समस्या हुने गरेको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रतीराम चौधरी बताउछन। “दिनभर बजारको चोक चौराहमा बस्यो, साँझ परेपछि रित्तै घर फर्कियो”, उहाँले भन्नुभयो, “खाली हात घर पुग्दा छोराछोरीले के ल्याउनुभयो भनेर खोज्न थाल्दा मन थाम्न गाह्रो हुन्छ।”
ठेलाले काम नपाएपछि घरमै बस्नुभन्दा दैनिक ज्यालादारीको काम चहार्दै हिँड्नुपरेको चौधरी बताउछन । एकातिर बजार दिनप्रतिदिन खस्कँदो छ। अर्कोतिर यात्रु बोक्ने रिक्साले सामान ओसारपसार गर्न थालेपछि ठेला मजदुर मर्कामा परेका हुन्। उसो त केही वर्ष अगाडि मात्रै टीकापुरमा एकसय बढी ठेला मजदुर थिए। हाल अधिकांश विस्थापित भइसकेका छन्। ठेलाको विकल्प नभएका केहीले मात्र निरन्तरता दिएका छन्।
“खेतीपाती गर्न जग्गाजमिन छैन, अन्य काम गरौँ सीप छैन, मजदुरी गर्नलाई नियमित काम पाइँदैन”, अर्का मजदुर सीताराम चौधरी भन्नुहुन्छ, “खर्च दिनप्रतिदिन बढ्दो छ, आयस्रोत बढ्नुको साटो घट्दै जाँदा के खाने, ले लगाउने, केले छोराछोरीलाई पढाउने ?”
जोशीपुरका राधेश्याम चौधरी ठेला चलाएर पहिले मासिक रु ५० हजारसम्म कमाउथे। दैनिक रु पाँच हजारसम्म कमाएको अनुभव उनको छ। १८ वर्षदेखि ठेला चलाएर जीविका चलाउँदै आएका उनी विद्युतीय रिक्साका कारण पेशाबाट विस्थापित हुने अवस्थामा छन।
स्थानीय सरकारले मापदण्ड बनाएर सबैलाई बाँच्ने वातावरण बनाउनुपर्ने ठेला मजदुरको माग छ। जुन प्रयोजनका लागि सवारीसाधनको खरिद भएको हो त्यसैअनुसार प्रयोग हुनुपर्ने उनीहरुको माग छ।
“हामीसँग भएको सीप त्यही हो, आज त्यो सीप काम नलाग्ने अवस्थामा छ, इलेक्ट्रिक रिक्सा किन्ने सामथ्र्य छैन”,ठेला मजदुर पर्देशी चौधरी भन्छन।
प्रकाशित: १४ कार्तिक २०८१ २१:३१ बुधबार





-600x400.jpg)